आइएमई जनरल इन्स्योरेन्सको नाफा १३ करोड माथि

0
Shares

आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७.८७ प्रतिशतले खुद नाफा बढाउँदै १३ करोड ९ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा १२ करोड १३ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी १ अर्ब ७० करोड भएको कम्पनीको प्रति सेयर आम्दानी १५ रुपैयाँ ३९ पैसा र प्रति सेयर नेटवर्थ १५५ रुपैयाँ १९ पैसा र मूल्य आम्दानी अनुपात ३१.२० गुणा छ । उसको जगेडामा ३२ करोड ८० लाख सञ्चित छ भने बीमा कोषमा ६१ करोड ११ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा जगेडा कोष ७.८२ प्रतिशत र बीमा कोष १५.१९ प्रतिशतले वृद्धि भएको हो ।

प्रकाशित तथ्यांक अनुसार कुल बीमा शुल्क संकलन ९ प्रतिशतले वृद्धि हुँदै ९० करोड २६ लाख १४ हजार पुगेको छ भने खुद बीमा शुल्क संकलन ७.७९ प्रतिशतले वृद्धि हुँदै ४० करोड ५६ लाख २४ हजार पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ८२ करोड ६६ लाख १३ हजार कुल बीमा शुल्क र ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले पुस मसान्तसम्म २९ सय ६४ वटा दाबी वापत ३९ करोड ०१ लाख कुल दाबी भुक्तानी गर्दा १२ करोड ६३ लाख ७५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा २५ सय ६१ वटा दाबीको ४२ करोड ८ लाख ३८ हजार कुल दाबी भुक्तानी गर्दा १३ करोड ७२ लाख १५ हजार रुपेयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

कम्पनीको जगेडा कोषको आकार ३० करोड ४२ लाख ४६ हजारबाट बढेर ३२ करोड ८० लाख ४९ हजार रुपैयाँमा पुगेको छ । त्यस्तै इन्स्योरेन्सको बीमा कोष ५३ करोड ५ लाखबाट बढेर ६१ करोड ११ लाख रुपैयाँ सञ्चित भएको छ ।

यस अवधिमा कम्पनीले ५२ करोड ३३ लाख रुपैयाँ दीर्घकालीन कर्जा, १ अर्ब ५७ करोड ७० लाख रुपैयाँ अल्पकालीन कर्जा लगानी गरेको छ । कम्पनीले लगानी कर्जा तथा अन्यबाट ७ करोड २ लाख १० हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीले ५७ हजार २०५ वटा बीमालेख जारी गरेकोमा १५ हजार ९४० वटा नवीकरण भएका छन् । गत आवको पुसमा कम्पनीले ६५ हजार ४८२ वटा बीमालेख जारी गरेकोमा १२ हजार ९१५ वटा नवीकरण भएका थिए । पुससम्म कम्पनीले ७७ सय ८७ वटा दाबीको १ अर्ब २८ करोड १८ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ । गत आवको सोही अवधिमा ८ हजार ३७ वटा दाबीको १ अर्ब २० करोड १९ लाख रुपैयाँ बराबरको भुक्तानी गर्न बाँकी रहेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।