एक घण्टामै ४८ अंकले घट्यो नेप्से

0
Shares

सेयर बजार परिसूचक नेप्से आइतबार कारोबार सुरु भएको एक घण्टामा नै २.२२ प्रतिशत अर्थात ४८ अंकले घटेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लगानीकर्ताको कुनैपनि माग सम्बोधन नगरेपछि लगानीकर्ता असन्तुष्ट भएका हुन् । नेप्से ४८.५२ अंकले घटेर २१३४.१२ बिन्दुमा झरेको छ ।

यस अवधिमा २३९ कम्पनीको २९ लाख ५६ हजार ३२८ कित्ता सेयर १ अर्ब १३ करोड रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । हिमालयन डिष्टिलरीको सर्वाधिक ६ करोड ७१ लख बढीको सेयर कारोबार भएको छ । ङादी प्रुप पावर, अपि पावर,अपर तामाकोशी र एनआईसी एशिया बैंकको शीर्ष कारोबार भएका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघले राष्ट्र बैंकलाई १२ करोड सेयर कर्जाको सीमा हटाउन, सेयर कर्जामा लगाईएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, एकल अङ्कमा व्याजदर कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना हुन गएकोले उक्त समस्याको तत्काल समाधान गर्ने व्यवस्था गर्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए । राष्ट्र बैंकले अर्थतन्त्रमा केन्द्रित रहेर सेयर बजारसँग सम्बन्धीत लगानीकर्ताको मागलाई वेवास्ता गरेपछि लगानीकर्ता बजारप्रति सकारात्मक हुन नसकेका हुन् ।

एक घण्टा अवधिमा युनिलिभरको सेयरमूल्य २.३७ प्रतिशतले बढेर १९ हजार ४५० रुपैयाँ पुगेको छ । गुराँस लघुवित्तको २ तथा सिटिजन्स म्युचुअल फन्डको १ प्रतिशतले सेयरमूल्य घटेको छ । सिटिजन्स म्युचुअल फन्ड–२ को सर्वाधिक ७.०७ प्रतिशतले घटेको छ भने तेह्रथुम पावर, जोशी हाइड्रोपावर र श्वेतगंगा हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५ प्रतिशतभन्दा धेरै घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।