बैंकिङ प्रणालीको तरलताको अवस्था कसिलो बन्दै गएको छ । केन्द्रीय बैंकले दीर्घकालिन रिपो मार्फत ४५ दिनका लागि बजारमा पठाएको ५० अर्ब रुपैयाँ परिपक्क भएसँगै तरलतामा दबाब परेको हो ।
तरलताका कारण सरकारी राजश्वमा असर नपरोस् भन्दै केन्द्रीय बैंकले गत पुसमा ५० अर्ब रुपैयाँ बराबरको ४५ दिने दीर्घकालिन रिपो जारी गरेको थियो । उक्त रिपोका कारण पुस अन्तिम देखि माघ महिनासम्म बैंकिङ प्रणालीमा तरलताको अवस्थामा पनि सहज रह्यो । तर, उक्त रिपो परिपक्क भएसँगै आइतबार नै बैंक वित्तीय संस्थाहरुले ८.५ प्रतिशत ब्याजदरको स्थायी तरलता सुविधा (एलएलएफ) लिन बाध्य भएका छन् ।
दीर्घकालिन रिपोका कारण गत पुस २९ गतेदेखि स्थायी तरलता सुविधा प्रयोग नगरेका बैंकहरुले एकै पटक माघ २९ गते उक्त सुविधा लिएका छन् । माघ २९ गते आइतबार बैंक वित्तीय संस्थाले १० वटा कारोबार मार्फत १४ अर्ब १० करोड रुपैयाँ बराबरको एसएलएफ प्रयोग गरेका हुन् । बैंक वित्तीय संस्थाले लिएको यो स्थायी तरलता सुविधा गत मंसिर १४ गते यताकै उच्च हो । मंसिर १४ गते बैंक वित्तीय संस्थाले २४ अर्ब ८८ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा प्रयोग गरेका थिए ।
माघ महिनाको अन्तिम साताको सुरुवातिसम्म ४ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंकदर समेत एक प्रतिशत बिन्दु धेरैले बढेको छ । गत बिहीबार ४ प्रतिशत रहेको अन्तर बैंक र शनिबार बढेर ५.२५ प्रतिशत पुगेको छ ।
पछिल्लो समयमा नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा प्रवाह गरेको तरलताले अल्पकालिन ब्याजदर घट्दै आएको थियो । बैंकहरुले स्थायी तरलता सुविधा लिन बन्द गरेका थिए भने ट्रेजरी बिल्सको ब्याजदर पनि क्रमिक रुपमा घट्दो क्रममा देखिएको थियो । तर, यो साताको सुरुवातमा वित्तीय प्रणालीमा देखिएको तरलताको चापले घट्दो क्रममा रहेको अल्पकालिन ब्याजदरलाई पुनः बढाउने निश्चित छ ।
सोमबार मात्र सरकारले १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी निष्कासन गरेको छ । त्यसमा पनि ८ अर्ब रुपैयाँ बरावरको पुरानो ट्रेजरी नवीकरण गर्ने र १० अर्ब बराबरको नयाँ रहेको छ । वित्तीय प्रणालीमा देखिएको कसिलो तरलताको अवस्थाले सरकारलाई यसपलीको आन्तरिकको ब्याजदर माघ २३ गते संकलन गरेको ट्रेजरीको ब्याजदर भन्दा महंगो पर्ने निश्चित छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया