एलआईसीको खुद नाफा दश करोड नजिक, जीवन बीमा कोष १ खर्ब माथि

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपाल लिमिटेडले आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासमा ९ करोड ८७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा ७ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा २८ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको खुद बीमा शुल्क संकलन र खुद दाबी भुक्तानी भने घटेको छ । कम्पनीको खुद बीमा शुल्क संकलन ८ अर्ब ६८ करोड १९ लाख ५५ हजार रुपैयाँबाट ९.३८ प्रतिशतले घटेर ९ अर्ब ५८ करोड ६ लाख ४१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ भएको कम्पनीको जगेडा कोषमा ७१ करोड ३४ लाख २८ हजार रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी तुलनामा चुक्ता पूँजी २० प्रतिशत बढ्दा जगेडा कोष ४२ प्रतिशतले घटेको हो ।

कम्पनीको जीवन बीमा कोष १७ प्रतिशत बढेर १ खर्ब १ अर्ब २१ करोड ४६ लाख ७४हजार रुपैयाँ पुगेको छ । महाविपत्ती कोष भने ०.१२ प्रतिशत घटेर ३६ करोड १५ लाख ८२ हजार रुपैयाँमा संकुचित बनेको छ । कम्पनीको प्रति सेयर आम्दानी ३ रुपैयाँ ७२ पैसा र सेयर नेटवर्थ ४२६८ रुपैयाँ २४ पैसा छ ।

कम्पनीले पुससम्म ३ अर्ब ९७ करोड ५१ लाख २२ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब २६ करोड ८३ लाख ९७ हजार रुपैयाँ दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा २४.५५ प्रतिशतले घटेको हो ।

पुससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या ६ लाख ८९ हजार ९४७ रहेको छ भने कुल बीमाशुल्क संकलन ८ अर्ब ७२ करोड ९५ लाख १८ हजार रुपैयाँ रहेको छ ।

पुससम्म कम्पनीले १० हजार ५० वटा दाबी भुक्तानी वापत ३ अर्ब ९८ करोड १४ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ४१ करोड ७४ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले बीमितलाइ प्रतिहजार ५४ देखि ७० रुपैयाँसम्म बोनसदर वितरण गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।