नेशनल लाइफको अधिकांश सूचक उत्साहजनक, जगेडामा उच्च गिरावट

0
Shares

नेशनल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को दोस्रो त्रैमासिक प्रतिवेदनमा अधिकांश सूचक उत्साहप्रद देखिएका छन् । कम्पनीको जगेडा कोष भने ७३ प्रतिशतभन्दा धेरैले घटेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुससम्म कम्पनीले २२ करोड ७३ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा १४ करोड ४१ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकोमा ५७.७० प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीको खुद बीमा शुल्क संकलन ६ अर्ब ७९ करोड ७७ लाख ९२ हजार रुपैयाँबाट १०.८४ प्रतिशतले बढेर ७ अर्ब ५३ करोड ४७ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब ६४ करोड ४ लाख ३१ ह्जार रुपैयाँ भएको कम्पनीको जगेडा कोषमा २६ करोड ६५ लाख ३९ हजार रुपैयाँ सञ्चिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनी तुलनामा चुक्ता पूँजी ३६.८५ प्रतिशत बढ्दा जगेडा कोष ७३.६७ प्रतिशतले घटेको हो ।

कम्पनीको जीवन बीमा कोष १८.९५ प्रतिशत बढेर ५६ अर्ब १५ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । महाविपत्ती कोष भने १९.१३ प्रतिशत बढेर ३७ करोड २० लाख ६८ हजार रुपैयाँमा संकुचित बनेको छ । कम्पनीको प्रति सेयर आम्दानी ९ रुपैयाँ ८० पैसा र सेयर नेटवर्थ ११३ रुपैयाँ ७६ पैसा छ ।

कम्पनीले पुससम्म ३ अर्ब ७२ करोड ५ लाख ५५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ दाबी भुक्तानी गरेकोमा समीक्षा अवधिमा ४४.८४ प्रतिशतले बढेको हो ।

पुससम्म कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या १७ लाख २ हजार २७९ रहेको छ भने कुल बीमाशुल्क संकलन ७ अर्ब ६८ करोड ७१ लाख १९ हजार रुपैयाँ रहेको छ ।

पुससम्म कम्पनीले २५ हजार २२ वटा दाबी भुक्तानी वापत ३ अर्ब ७६ करोड ४२ लाख ३७ हजार रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले ७ अर्ब ७८ करोड ९६ लाख ८५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीले बीमितलाइ प्रतिहजार ६३ देखि ८५ रुपैयाँसम्म बोनसदर वितरण गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।