बैंकहरुले ब्याज आम्दानीको ५६ प्रतिशतसम्म मुद्दती निक्षेपका लागि खर्चन्छन्


वाणिज्य बैंकहरुले कुल ब्याज आम्दानीको ५६ प्रतिशतसम्म मुद्दती निक्षेपको ब्याजमा खर्चेका छन् । बैंकहरुले दिर्घकालिन र अल्पकालिन मुद्दती निक्षेपका लागि मात्र कुल ब्याज आम्दानीको आधा भन्दा धेरै खर्च गरेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुको कुल ब्याज आम्दानी २ खर्ब ६२ अर्ब ६२ करोड रुपैयाँ छ । सो अवधिमा बैंकहरुको कुल ब्याज खर्च १ खर्ब ७४ अर्ब ९० करोड रुपैयाँ छ ।

बैंकहरुले कुल ब्याज आम्दानीको औसतमा ४५ प्रतिशत मुद्दति निक्षेपमा दिइने ब्याजका लागि मात्र खर्च गरेका हुन् ।

चालु आर्थिक वर्षमा बैंकिङ प्रणालीको निक्षेपको ब्याजदर १५ प्रतिशत भन्दा माथि पुगेको अवस्था थियो । बैंकहरुको कर्जा लगानीयोग्य रकम तथा तरलता अभाव भएपछि बैंकहरुले ब्याजदर बढाउनु पर्ने अवस्था आयो । त्यसका साथै चालु आर्थिक वर्षको मौद्रिक नीतिले नीतिगतदर पनि १.५ प्रतिशतको विन्दुले बढायो । त्यसले गर्दा पनि बैंकिङ प्रणालीको ब्याजदरमा दबाब परेको हो । विश्व भरका केन्द्रीय बैंकले मूल्यवृद्धि नियन्त्रण गर्नका लागि नीतिगत दर बढाए । नेपाल राष्ट्र बैंकले पनि सोही अभ्यसालाई अनुसरण गर्दै नीतिगतदर बढायो । त्यसले बैंकिङ प्रणालीको ब्याजदर बढायो ।

बैंकिङ प्रणालीको ब्याजदर बढेसँगै बचतकर्ताले समेत मुद्दती निक्षेप पैसा सिफ्ट गर्न थाले पनि मुद्दतीको ब्याज खर्च बढेको एक बैंकरले नोटबजारलाई बताए । बचतको भन्दा मुद्दतीको ब्याजदर धेरै र कुल निक्षेपमा मुद्दतीको हिस्सा पनि धेरै भएकाले उक्त शिर्षकको ब्याज खर्च बढेको ती बैंकरले जानकारी दिए । करेन्ट र सेभिङ डिपोजिट धेरै भएको बैंकको आधार ब्याजदर कम हुन्छ । जुन बैंकसँग निक्षेपमा बचत धेरै हुन्छ त्यो संस्था स्ट्याबल हुन्छ । तरलताको हकमा भने करेन्ट तथा कल निक्षेप धेरै हुने बैंक बढी भोलाटायल हुन्छन् ।

मुद्दती निक्षेपको सन्दर्भमा पनि ब्यक्तिगत वा संस्थागत भन्ने कुरालाई हेर्नु पर्छ । यसमा व्यक्तिगत निक्षेप धेरै भएको खण्डमा त्यसलाई राम्रो मानिन्छ । तर, संस्थागत निक्षेपको हिस्सा धेरै छ भने त्यो संस्था भोलाटायल हुन्छ । पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३६.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

तर, बैंकहरुको औसतमा ब्याज आम्दानीको ४५ प्रतिशत मुद्दती निक्षेपको ब्याज तिर्नका लागि खर्च हुने देखिएको भएपनि बैंक अनुसार हेर्दा २७ प्रतिशत देखि ५६ प्रतिशशतसम्म प्रयोग भएको देखिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकहरुले कुल ब्याज आम्दानीको ४३.३३ प्रतिशत मुद्दती निक्षेपको व्याजका लागि खर्च गरेका थिए ।

राष्ट्र बैंकको पुससम्मको तथ्याङक अनुसार सिभिल बैंकले ब्याज आम्दानीको सबैभन्दा धेरै अर्थात ५६ प्रतिशत मुद्दती निक्षेपका लागि मात्र खर्च गरेको छ । त्यसैगरी सरकारी लगानीको राष्टिय« वाणिज्य बैंकले कुल ब्याज आम्दानीको २७ प्रतिशत रकम मात्र मुद्दती निक्षेपको ब्याजका लागि खर्चेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकहरुको कुल निक्षेपमा ५८.३७ प्रतिशत मुद्दती निक्षेप रहेको छ । गत आर्थिक वर्ष अर्थात २०७८/०७९ को पुसम्ममा बैंकहरुको कुल निक्षेपमा मुद्दति निक्षेपको अंश ५२.५२ प्रतिशत रहेको थियो ।

चालु आवको पुससम्ममा बैंकहरुको कुल निक्षेप ४७ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ । यो निक्षेप रकममा २७ खर्ब ५३ अर्ब रुपैयाँ मुद्दती निक्षेप रहेको छ । बैंकहरुले ३ महिने, ६ महिने, एक वर्षे र सो भन्दा माथिको अवधिका मुद्दती निक्षेप लिँदै आएका छन् । सो अवधिमा कुल ब्याज आम्दानीको ५० प्रतिहतभन्दा धेरै रकम मुद्दती निक्षेपको ब्याजका लागि खर्च गर्ने बैंकहरुको संख्या ५ रहेको छ ।

चालु आवको सो अवधिमा बैंकहरुले बचत खाताका लागि ३९ अर्ब ९७ करोड रुपैयाँ मात्र खर्च गरेका छन् । कुल ब्याज आम्दानीको २० प्रतिशत भन्दा बढी रकम बचतको ब्याजका लागि खर्च गर्ने बैंकहरुमा सरकारी लगानी भएका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन । यसमा पनि सबैभन्दा धेरै राष्ट्रिय वणिज्य बैंकले कुल ब्याज आम्दानीको २७ प्रतिशत बचत निक्षेपको ब्याज भुक्तानी गरेको देखिएको छ । त्यसैगरी बचत खातमा सबैभन्दा थोरै ब्याज खर्च गर्नेमा पनि सिभिल बैंक रहेको छ । बैंकले कुल ब्याज आम्दानीको साढे ८ प्रतिशत मात्र बचत खाताको ब्याज भूक्तानीका लागि खर्चेको राष्ट्र बैंकले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।