१४ मेगावाटको घारखोला जलविद्युत आयोजना अन्तिम चरणमा


हाइड्रो भिलेजका रुपमा चिनिने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १४ मेगावाट क्षमताको घारखोला जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको आयोजनाको भौतिक संरचनाका निर्माण सकेर उपकरण जडान शुरु, बाँध, सुरुङ र पेनस्टेक पाइपलाइनको परिक्षण गर्ने तयारी भएको हो । चैत महिनाभित्र विद्युत उत्पादन शुरु गर्ने लक्ष्य राखिएको आयोजनाको संरचना निर्माणको काम करिब सकिएको छ । पावरहाउसमा उपकरण जडान गर्न थालिएको छ ।

तीन हजार पाँच मिटर लामो सुरुङ प्लास्टरको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–५ शिख र ६ स्थित घारको सिमानामा पर्ने कुरिलाबगरमा जगदेखि ११ मिटर अग्लो बाँध निर्माण भएको छ ।

बाँध र ४५ मिटर लम्बाइको दुई वटा पानी थिग्राउने पोखरी (डिसेन्डर) बनाइएको छ । डिसेन्डरदेखि सुरुङ सम्म २४८ मिटर लामो डिसेण्डर एप्रोच क्यानल जडान भएको छ । बाँध, डिसेन्डर र एप्रोच क्यानलको पहिलो चरणको परिक्षण सफल भएको छ ।

अमिलाकाफलमा रहेको आउटलेट देखि बिद्युत गृहसम्म ४८५ मिटर पेनस्टक पाइप जडान भएको छ । आउटलेटदेखि बिद्युत गृहको दुरी एक हजार २०० मिटर र उचाई ४८५ मिटर छ । पोखरेबगर स्थित गोजेखोल्सीमा पहाड काटेर विद्युतगृहको भवन निर्माण सकेर झ्याल ढोका राख्ने र रंगरोगनको काम भईरहेको छ ।

पोखरेबगरदेखि २२० केभी क्षमताको दाना सब स्टेशनसम्म आठ किलोमिटर ३३ केभीएको डबल सर्किट प्रशारण लाइनको पोल गाड्ने र सवस्टेशनमा सिभिल संरचना बनाएर तार तान्न थालिएको छ ।

२०७४ चैत महिनादेखि शुरु भएको घारखोला २०७८ माघमा सञ्चालन गर्ने लक्ष्य राखिएको थियो । कोरोना, निषेधाज्ञा, बन्दाबन्दी र प्राकृतिक विपद्का कारण उक्त समयमा निर्माण सम्पन्न हुन सकेको थिएन ।

कुल दुई अर्ब ४२ करोड लागत अनुमान गरिएको आयोजनामा एनएमबी बैंकको नेतृत्वमा एनआइसी एसीया, कुमारी र प्राइम कर्मसियल बैंकले लगानी गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।