साना उद्योगमा समस्या थपिँदै, २० प्रतिशत धेरै उद्योग बन्द

0
Shares

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ का दीपकप्रसाद सापकोटाले तीन करोडको लगानीमा सुरु गर्नुभएको टेक्सटायल उद्योग १२ करोड नोक्सानी व्यहोरेर बन्द गर्नु पर्‍यो ।

व्यवसायलाई पुनः निरन्तरता दिँदै उनले हाल सूर्यमुखी तेल, एसिड लगायतका सामान उत्पादन गरिरहेका छन् । उद्योगका लागि कच्चापदार्थको अभाव देखिन थालेपछि यो उद्योग पनि बन्द हुने अवस्था रहेको सापकोटाले बताए । “अहिले देशको आर्थिक अवस्था यस्तै हो कि उद्योगमैत्री वातावरण नभएर हो, उद्योग सञ्चालन खर्च पूरा गर्न पनि गाह्रो छ, यो पनि कहिलेसम्म सञ्चालन गर्न सकिने हो चिन्ताको विषय बनेको छ”, उनले भने ।

अर्का व्यवसायी सुकबहादुर दराईले गैँडाकोट–७ मा सञ्चालन गरेका दालमोठ उद्योगमा १ करोडभन्दा बढी घाटा भएपछि उद्योग बन्द गरे । उद्योग बन्द गरे पनि ऋण तिर्न बाँकी नै भएपछि उनले तीन बिघाहा जमिन पनि बेचे । “उद्योग पूरै घाटामा गयो”, दराईले भने, “उद्योगको ऋण तिर्न नै जमिन बेच्नु पर्‍यो, तर राज्यले हाम्रो समस्या बुझेन ।”  नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा अहिले ६ हजारभन्दा बढी उद्योग सञ्चालनमा छन् । जिल्ला उद्योग सङ्घ नवलपुरका अनुसार कोरोना महामारीपछि जिल्लाका २० प्रतिशत उद्योग बन्द भएका छन् ।

सरकारले लगानीमैत्री वातावरण नबनाउँदा उद्योगी, व्यवसायी उद्योग, व्यवसाय बन्द गर्ने मनसायमा पुगेका छन् भने आर्थिक सङ्कटका कारण मानसिक तनाव पनि बढ्दै गएको उद्योग वाणिज्य सङ्घका महासचिव छविलाल कँडेलले बताए ।  “सरकारले विभिन्न अव्यावहारिक सर्त अगाडि सा¥यो”, कँडेलले भने “उद्योगमैत्री वातावरण अझै बनेको छैन, निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नु आवश्यक देखिन्छ ।” एकातिर उद्योग व्यवसाय बन्द हुँदैछ भने अर्कातिर नयाँ उद्योग दर्ता हुने क्रम पनि जारी छ ।

पर्यटन तथा उद्योग कार्यालय नवलपुरको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको ६ महिनामा मात्रै २५७ नयाँ उद्योग दर्ता हुँदा ४० लाख ६ हजार राजस्व सङ्कलन भएको छ । व्यवसायी भने उद्योग व्यवसाय उकास्ने गरी सरकारले कुनै काम नगरेको बताउँछन् ।

धराशयी बन्दै गएको उद्योग व्यवसायका लागि पर्यटन तथा उद्योग कार्यालयले प्रदेशस्तरीय योजना बनाएर कार्यान्वयन गरेको पर्यटन तथा उद्योग कार्यालयका प्रमुख सागर खनालले बताए ।

“कोभिडबाट प्रभावित उद्योगको सयोगका लागि सहुलियत ऋण कार्यक्रम गण्डकी प्रदेश सकारले सञ्चालन गरेको थियो”, उनले भने, “पर्यटन तथा सानो उद्योग प्रवद्र्धनका लागि चालू आर्थिक वर्षमा पनि विशेष कार्यक्रम सञ्चालन गरिएका छन् ।”

आर्थिक सङ्कटको सामना गरिरहेका व्यवसायी भने बन्द भएका व्यवसाय पुनः सञ्चालन गर्न राज्यको सहयोग पर्खिरहेका छन् । राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ अनुसार नेपालमा लगभग ६० हजार उद्योग छन् । तीमध्ये खानी तथा उत्खनन क्षेत्रमा ३५६, उत्पादन क्षेत्रमा ५६, विद्युत् तथा ग्यास सेवा क्षेत्रमा झन्डै एक हजार उद्योग छन् । देशभर साना तथा घरेलु उद्योग पनि उत्तिकै सङ्ख्यामा छन् । स्थानीयस्तरमा दर्ता भएर उत्पादनमुखी काम गर्ने र स्वरोजगार बन्ने गरी उद्योग दर्ता गर्ने क्रम पनि उत्तिकै छ । -रासस

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।