शिवम् सिमेन्टको आम्दानीमा गिरावट, ३ अर्ब १० करोड कर्जाका लागि रेटिङ

0
Shares

शिवम् ग्रुपको लगानी रहेको शिवम् सिमेन्टको आम्दानीमा गिरावट आएको छ ।

सन् २०२१ मा ९ अर्ब ६१ करोड ५० लाख आम्दानी गरको कम्पनीले सन् २०२२ मा ९ अर्ब २६ करोड आम्दानी गरेको छ । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानीमा ३.६९ प्रतिशतको गिरावट आएको हो।

कम्पनीको सञ्चालन विधि चालु पुँजी खर्चमा निर्भर रहेका कारण आम्दानीमा ठूलो गिरावट नआउँदा पनि वित्तीय सूचांकहरु कमजोर देखिएका छन् । कम्पनीले आर्जन गरेको कुल सञ्चालन आम्दानीको २२ प्रतिशत हिस्सा चालु पुँजी खर्च रहेको छ जुन यस अघि २१ प्रतिशत थियो ।

यस्तै कम्पनीको ह्रासकट्टी, अर्मोटाइजेसन, कर, भाडा र ब्याज अघिको नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको १२ प्रतिशत रहेको छ । जुन सन् २०२१ मा २२ प्रतिशत रहेको थियो ।

पछिल्लो समयमा विश्व अर्थतन्त्र मन्दी उन्मुख भएसँगै नेपालको भौतिक विकास क्षेत्रमा पनि त्यसको प्रभाव परेको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण सिमेन्ट तथा स्टील कम्पनीहरुले फ्रोफिट मार्जिन सन्तुलनमा राख्नका लागि मूल्य बढाएका छन् । यस्तै सिमेन्ट उद्योगहरुबीचको आन्तरिक प्रतिस्पर्धा, अत्यधिक चालु पुँजी खर्च र अन्तराष्ट्रिय बजारमा डलर शक्तिशाली हुँदा उद्योगको आम्दानीमा गिरावट आएको छ ।

तथापि शिवम् सिमेन्ट उद्योगमा नेपालको शिवम् होल्डीङ्सको ८८ प्रतिशत र अन्य संस्थागत प्रमोटरहरुको १२ प्रतिशत लगानी रहेको छ । लक्की ग्रुप, शारडा ग्रुप, गोयल ग्रुप, मुन्डारा ग्रुप, मारु ग्रुप र भीमसारिया ग्रुप उद्योगका प्रमोटर रहेका छन् । जसकारण उद्योगलाई राम्रो वित्तीय तथा प्राविधिक सहयोग मिलिरहेको छ ।

यस्तै उद्योगको वरिपरि चारवटा चुन ढुङ्गा खानी रहेका छन् । जसकारण कम्पनीलाई क्लिंकर उत्पादनमा सहजता पुगेको छ । सन् २००३ मा स्थापना भएको शिवम् सिमेन्टले भगिनी संस्थाका रुपमा होङ्सी शिवम् सिमेन्ट सञ्चालन गरिरहेको छ ।

होङ्सी शिवम् समेन्ट उद्योगमा चिनियाँ कम्पनी होङ्सी ग्रुपको समेत लगानी रहेको छ । जसकारण कम्पनीको अन्तराष्ट्रिय व्यापारिक सम्बन्ध राम्रो छ । अनुभवी प्रमोटर, स्थापनाकाल देखिको बलियो सञ्चालन छविका कारण पनि कम्पनीको आम्दानी आगामी समयमा बढ्ने देखिन्छ ।

३ अर्ब १० करोड ९४ लाख बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि डबल ए माइन्स र अल्पकालीन कर्जाका लागि ए१ प्लस रेटिङ गरेको छ । उद्योगको आम्दानीमा भएको गिरावटका कारण इक्रा नेपालले उद्योगलाई “वाच वीथ नेगेटिभ इम्प्लीकेशन”को सूचीमा राखेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।