धितोपत्र ब्रोकरको प्रतिशाखा चुक्ता पुँजी साढे एक करोड, ब्रोकर भन्छन्, “व्यवहारिक भएन”

0
Shares

नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीलाई शाखा विस्तारमा कडाइ गर्दै प्रति शाखा चुक्ता पुँजीको मापदण्ड तोकेको छ। बोर्डले ब्रोकर शाखा खोल्ने सम्बन्धमा निर्देशिका नै बनाई प्रतिशाखा डेढ करोड रुपैयाँ चुक्ता पुँजीको व्यवस्था गरेको हो ।

धितोपत्र बोर्डले बिहीबार देखि ‘धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशीका २०७९,’ लागु गर्दै शाखा विस्तारको मापदण्ड तोकेको हो । निर्देशिका अनुसार ब्रोकर कम्पनीले चुक्त पुँजीलाई डेढ करोडले भाग गरेर आउने भागफल बरावर मात्र शाखा विस्तार गर्न पाउने व्यवस्था गरेको छ । सो अनुसार चुक्ता पुँजी थोरै र शाखा धेरै भएका धितोपत्र दलाल कम्पनीले आगामी ६ महिना भित्र ब्रोकर अनुसारको चुक्ता पुँजी कायम गर्नुपर्ने धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रबक्ता मुक्ति श्रेष्ठले बताए ।

“प्रतिशाखा एक करोड ५० लाखको पुँजीगत मापदण्ड राखिएको भएपनि प्रक्रियागत रुपमा धेरै सहज बनाइएको छ,” श्रेष्ठले भने,“पुँजी भन्दा धेरै शाखा भएका र तोकिएको समयमा पुँजी पु्र्याउन नसक्ने धितोपत्र दलाल कम्पनीको शाखा बन्द हुन्छ ।”

शाखा कार्यालय खोल्न चाहने धितोपत्र दलाल व्यवसायीको नेटवर्थ चुक्ता पुँजी भन्दा धेरै हुनुपर्ने व्यवस्था छ । त्यसैगरी नेटवर्थ सम्बन्धी विवरण चार्टर्ड एकाउन्टेन्टबाट प्रमाणित गर्नुपर्नेछ । निर्देशिका अनुसार मूख्य कार्यालय भएको जिल्लामा शाखा विस्तार गर्न नपाउने व्यवस्था छ । तर, कुनै एक जिल्ला भित्र शाखा स्थानन्तरण गर्नु परेमा धितोपत्र बोर्डलार्ई जानकारी दिइ गर्न सकिने व्यवस्था गरेको छ ।

निर्देशिका अनुसार धितोपत्र दलाल कम्पनी, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत सम्पत्ति शुद्धिकरण ऐन अनुसार कारबाहीमा परेको भए एक वर्षसम्म शाखा खोल्न रोक लगाएको छ । त्यसैगरी बोर्डबाट अनुमती लिएर पनि शाखा नखोले एक वर्ष शाखा खोल्नका लागि आवेदन समेत दिन नसक्ने व्यवस्था छ ।

तर, धितोपत्र दलाल व्यवसायीले भने धितोपत्र बोर्डले गरेको यो व्यवस्थालाई लिएर फरक मत राखेका छन् । धितोपत्र बोर्डले शाखा विस्तारका लागि पुँजीको मादण्ड बनाउनु व्यवहारिक नभएको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष धर्मराज सापकोटाले बताए । “बोर्डले के आधारमा शाखाका लागि पुँजीको मापदण्ड बनाएको बुझ्न सकिएन,”उनले भने,“यस सन्दर्भमा धितोपत्र बोर्ड पुनरविचार गर्नु पर्ने हुन्छ।”

धितोपत्र बोर्डले निर्देशिका मार्फत गरेको शाखा खोल्न प्रक्रियागत सहजताको विषयलाई भने सापकोटाले स्वगत नै गरे । तर, उनले बोर्डको स्वीकृत लिएर पनि शाखा नखोलेमा एक वर्षसम्म शाखाका लागि निवेदन दिन नपाउने तथा केन्द्रीय कार्यालय रहेको जिल्लामा शाखा खोल्न नपाउने व्यवस्थामा समेत असहमती जनाए । यस सन्दर्भमा धितोपत्र बोर्डसंग आवश्यक छलफल गरी समाधान गर्ने समेत उनले बताए ।

धितोपत्र बोर्डले निर्देशिका बनाउने क्रममा आफुहरुसंग छलफल समेत गरेको बताउँदै सापकोटाले भने,“निर्देशिकाको मस्यौदा माथि भएको छलफलमा समेत हामीले ती व्यवस्था प्रति असहमती जनाएका थियौ ।” अहिले प्रविधिको प्रयोग बढ्दो अवस्थामा ठुलो खर्चमा शाखा विस्तार भन्दा पनि आधिकारीक प्रतिनिधि मार्फत सेयर कारोबारको व्यवस्थालाई कार्यान्वयनमा जोड दिन आफुहरुले सुझाएको समेत उनले बताए । ग्राहक पहिचान विवरणका लागि एक प्रतिनिधिको व्यवस्था गरे हुने अवस्था भएका बोर्डले पनि यसबारे मनन गर्नुपर्ने उनको भनाइ छ ।

नया धितोपत्र दलाल कम्पनी थप गर्ने भनेपछि सञ्चालनमा रहेका ब्रोकरले आक्रामक (करिब दुईसय) रुपमा शाखा विस्तारको अनुमती माग्दै धितोपत्र बोर्ड गएका थिए । धितोपत्र बोर्डले आक्राम शाखा विस्तारका लागि नियन्त्रण गर्दै उक्त पुँजीगत मादण्ड कायम गरेको देखिन्छ । बोर्ड प्रत्रियागत सरलीकरण गरेर पुँजीको मापदण्ड तोक्नु बोर्डमा आएका निवेदनलाई स्वीकृत गर्न नपरोस भन्ने पनि हो । बोर्डले नायँ धितोपत्र दलाल कम्पनीको आवेदन पनि लिएको छ ।

ब्रोकरको नयाँ लाइसेन्स दिने विषय सर्वोच्च अदालतमा विचारधिन भएकाले हालका लागि रोकिएको छ । बोर्डले नयाँ धितोपत्र दलाल थप गर्नका लागि धितोप व्यवसायी नियमावली संशोधन गरेर चुक्ता पुँजी समेत बढाई कार्यक्षेत्र अनुसार २०, ६० र १५० करोड रुपैयाँ चूक्ता पुँजी कायम गरेको छ । हाल सञ्चालनमा रहेका धितोपत्र दलाल कम्पनीका लागि उक्त पुँजी पु्रयाउन २०८२ असारसम्मको समय दिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।