सेयर बजारमा वियरिस हाबी, सोमबार २३.६० अंकले घट्यो नेप्से

0
Shares

राष्ट्रपति निर्वाचनका कारण बढेको राजनैतिक अन्यौलता र सत्ता समीकरणमा देखिएको संकटका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा सोमबारको सेयर बजार पनि ऋणात्मक बन्न पुगेको छ ।

सेयर बजार बढ्ने स्पष्ट आधार नदेख्दा लगानीकर्ताहरुले बजार अझ घट्नसक्ने आंकलन गर्दै सस्तो मूल्यमा नै सेयर बिक्री गरेका हुन् । बजार खुला भएदेखि नै घट्न सुरु भएको बजारमा अधिकांश समय ऋणात्मक नै रह्यो । प्रजातन्त्र दिवसको विदाका कारण आइतबार सार्वजनिक विदा हुँदा तीन दिनपछि खुलेको सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो । सोमबार नेप्से दोहोरो अंक अर्थात २३.६० बिन्दुले घटेको छ ।

नेप्सेमा वियरिस हाबी हुँदा गत साताको पहिलो कारोबार दिनदेखि परिसूचक निरन्तर पाचौँ कारोबार दिन ओरालो लागेको छ। माघ २६ गते बिहीबार १२।४५ अंकले बढेर बन्द भएको नेप्से त्यस यताको हरेक कारोबार दिनमा ऋणामत्मक बन्दै आएको छ । साताको पहिलो कारोबार दिन सोमबार पनि ओरालो लाग्ने क्रमले निरन्तरता पाएको हाे ।

गत बिहीबार पनि २१.१५ अंकले २०७० दशमलव ४१ विन्दुमा बन्द भएको नेप्से सोमबार पनि घटेर २०४६ दशमलव ८१ विन्दुमा झरेर बन्द भएको हो । बिहीबरको तुलनामा सोमबार कारोबार रकम भने २६ करोडले बढेको छ ।

सोमबार धितोपत्र बजारमा २५८ कम्पनीका६० लाख ९१ हजार कित्ता सेयर ३८ हजार ४१५ पटकको कारोबारमा १ अर्ब ९४ करोड ७६ लाख २३ हजार रुपैयाँ बराबरमा खरिद बिक्री भएका छन् । कारोबारमा आएका ३२ वटा कम्पनीको मूल्य बढ्दा १७७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ७ कम्पनीको स्थिर रहेको छ ।

कुल १ अर्ब ९४ करोड ७६ लाखको कारोबार भएको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक २० करोड ८२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनको ११ करोड ४८ लाख रुपैयाँ, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

नेप्से घटेपनि सोमबार राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य बढेर सकारात्मक सर्किटलागेको छ । कम्पनीको सेयर १० प्रतिशत बढेर ३७६.२० रुपैयाँ पुगेको छ । त्यसैगरी दोर्दी खोला जलविद्युत कम्पनीको सेयरमूल्य ४.१७, एनएमबि हाइब्रिड फन्ड एल–१ को इकाई ३.९६, कालिका पावर २.०४ र एनएमबि ५० को इकाईमूल्य २.०२ प्रतिशतले बढेको छ ।

उता आजको बजारबाट जीवन विकास लघुवित्तका सेयर लगानीर्काले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.१५ प्रतिशत घटेर २४६३ रुपैयाँमा झरेको छ । कम्पनीले अघिल्लो आवमा७३ प्रतिशत लाभांश बाँड्दा गत आवबाट भने ३७ प्रतिशत मात्र लाभांश प्रस्ताव गरेपछि लगानीकर्ताहरुले मूल्य घटाएर नै सेयर बिक्री गरेका हुन् । त्यस्तै, उपकार लघुवित्तको ७.४२ प्रतिशत, हिमालयन डिष्टिलरीको ५.३१, वीन नेपाल लघुवित्तको ५ र समीट लघुवित्तको ४.९६ प्रतिशत सेयर मूल्य घटेको छ ।

कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये २ बढ्दा बाँकी ११ वटै ऋणात्मक बनेका छन् । म्युचुअल फण्ड ०.७९ र व्यापार ०.४० प्रतिशतले बढेको हो भने उत्पादन तथा प्रशोधन, लघुवित्त, विकास बैंक र अन्यको सूचक धेरै घटेका छन् । यस दिन उत्पादन तथा प्रशोधन ३.२० प्रतिशत, लघुवित्त २.३४ प्रतिशत, अन्य १.४९ प्रतिशत र विकास बैंक १.०७ प्रतिशत घटेको हो ।

सोमबारको कारोबारपछि कुल बजार पुँजीकरण २९ खर्ब ५३ अर्ब ४२ करोड ४० लाख ७ हजार रुपैयाँमा समेटिएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।