भूगोल इनर्जी र दोल्ती पावर दुबैको आईपीओ पहिलो दिनमै ‘ओभरसब्सक्राइड’

0
Shares

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड र दोल्ती पावर कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ पहिलो दिनमा नै ‘ओभरसब्सक्राइड’ भएको छ ।

भूगोल इनर्जीमा माग संख्याको १.१९ गुणा र दोल्ती पावरमा १.२५ गुणा माग परेको सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज (सोमबार) साँझ ५ बजेसम्म भूगोल इनर्जीमा १ लाख २९ हजार ४१० कित्ता र दोल्ती पावरमा १ लाख ३३ हजार ६०० कित्ताको माग परेको हो । भूगोल इनर्जीले १ लाख ८ हजार ८११ कित्ता र दोल्ती पावरले १ लाख ७ हजार २९८ कित्ता सेयर खरिदका लागि आवेदन माग गरेको थियो ।

स्थानीयतर्फको भने आंकडा प्राप्त भएको छैन । आयोजना प्रभावितका लागि भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले ५ लाख ४४ हजार ५३ कित्ता र दोल्ती पावर कम्पनी लिमिटेडले ५ लाख ३६ हजार ४८६ कित्ता सेयर आजैदेखि निष्कासन गरेको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुले आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ । स्थानीय बासिन्दाहरुका लागि छुट्टाइएको सेयरको हकमा भने सो अवधिमा सबै बिक्री नभएको खण्डमा भने ढिलोमा चैत ७ गतेसम्म आवेदन खुला रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले मेरो सेयरको मोबाइल एप, मेरो सेयर अनलाइन सफ्टवेयर तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट सि आस्वा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।