एशियाली अर्थतन्त्रमा सुधार देखिएपछि आइएमएफले बढायो आर्थिक वृद्धि दर प्रक्षेपण

0
Shares

अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एशिया क्षेत्रको अर्थतन्त्रमा सुधार देखिएपछि आर्थिक वृद्धि दर प्रक्षेपण बढाएको छ ।

सन् २०२२ मा ३.८ को आर्थिक वृद्धि दर प्रक्षेपण गरेको आइएमएफले सन् २०२३ मा आर्थिक वृद्धि दर ०.९ प्रतिशत बिन्दुले बढेर ४.७ प्रतिशत पुग्ने अनुमान गरेको हो।

जापानको मुद्रास्फीति तुलनात्मक रुपमा नियन्त्रणमा आएको छ भने सन् २०२२ मा कमजोर प्रदर्शन गरेको येन बलियो हुँदै गएको छ । यस्तै चीनका आर्थिक गतिविधिमा देखिएको सुधारका कारण एशियाली अर्थतन्त्रमा सुधार आएको आइएमएफले जनाएको छ।

यस्तै रुस युक्रेन युद्धका कारण सिर्जना भएको खाद्यान्न तथा पेट्रोलियम पदार्थको मुल्यको अवस्वभाविक वृद्धिमा कमी आउँदा एशिया क्षेत्रमा आर्थिक गतिविधि बढेको छ । कोभिड संक्रमण नियन्त्रणका लागि शून्य कोभिड नीति अपनाएको चीनले उक्त नीति खुकुलो बनाएपछि चीनको अर्थतन्त्रमा सुधार आएको छ ।

सन् २०२३ मा चीनको आर्थिक वृद्धि दर ५.२ प्रतिशत रहने अनुमान आइएमएफले गरेको छ । यसअघि शुन्य कोभिड नीतिका कारण उद्योग तथा कलकारखाना बन्द रहदा सन् २०२२ मा चीनले ३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको थियो । चिनियाँ अर्थतन्त्रको वर्तमान परिदृश्य सकारात्मक देखिएता पनि विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेका कारण सन् २०२४ मा चीनको आर्थिक वृद्धिदर ५.२ प्रतिशतबाट खुम्चिएर ४.५ प्रतिशत रहने अनुमान आइएमएफको छ ।

यस्तै भारतको मुद्रास्फीती दरमा कमि आएका कारण भारतीय अर्थतन्त्र सुधारात्मक रहेको छ । विश्व आर्थिक मन्दी तर्फ अग्रसर रहेता पनि एशियाली राष्ट्रहरुको आर्थिक वृद्धि दर बलियो देखिन्छ । सन् २०२२मा भारतको आर्थिक वृद्धि दर ६.१ प्रतिशत रहने आइएमएफको प्रक्षेपण छ ।

आइएमएफले सन् २०२३ मा सम्वृद्ध एशियाली राष्ट्रहरुको आर्थिक वृद्धिदर १.९ प्रतिशत र उदयमान अर्थतन्त्रहरुको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने जनाएको छ । विश्वको कुल आर्थिक वृद्धि दरको ५० प्रतिशत हिस्सा भारत र चीनले ओगट्ने देखिन्छ ।

यसका साथै पूर्र्वी एशियाली राष्ट्रहरुमा देखिएको आर्थिक सुधारले विश्व आर्थिक वृद्धि दरको एक चौथाइ ओगट्ने कोषको दाबी छ । कम्बोडिया, इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, थाइल्यान्ड र भियतनामको अर्थतन्त्र कोभिड अघि कै लय समातेको आइएमएफले जनाएको छ ।

सन् २०२२ मा दक्षिण एशियाली राष्ट्र बाङ्लादेशको वृद्धि दर ६ प्रतिशत, नेपालको ५ प्रतिशत र श्रीलंकाको आर्थिक वृद्धि दर ३ प्रतिशतले खुम्चिने प्रक्षेपण अन्तराष्ट्रिय मुद्रा कोषले गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।