बैंक वित्तीय संस्थाबाट ऋण लिएकाहरुले लघुवित्तबाट नपाउने

0
Shares

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुबाट कर्जा उपयोग गर्दै आएका ग्राहकले अबदेखि लघुवित्तहरुबाट ऋण नपाउने भएका छन् ।

एकै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिँदै नतिर्ने प्रवृत्ति बढिरहेका बेला केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै बैंक वित्तीय संस्थाहरुबाट ऋण लिने ग्राहकलाई पनि लघुवित्तबाट कर्जा उपयोग गर्न रोक लगाएको हो ।

एकै व्यक्तिले धेरै संस्थाबाट ऋण लिँदा ऋण नउठ्ने समस्या बढ्दा चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म लघुवित्तको डिफल्ट रेट उच्च रुपमा बढेको छ भने लघुवित्तका ऋणीहरु ऋण तिर्न नसकेर समस्यामा पर्दै आएका छन् । सोही समस्या नूनिकरण गर्न राष्ट्र बैंकले एकीकृत निर्देशन संशोधन गर्दै लघुवित्तबाट प्रदान हुने कर्जामा कडाइ गरेको हो ।

लघुवित्त कम्पनीहरुलाई कर्जा प्रवाह गर्दा अन्य बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त समेत) बाट ऋण लिए नलिएको सम्बन्धमा कर्जा सूचनाको आधारमा यकिन गरेर मात्र ऋण प्रवाह गर्नुपर्ने व्यवस्था थपिएको छ ।

केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ, ‘‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन् । यस प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिए/नलिएको सम्बन्धमा ऋणीको स्वघोषणा गराउनुका साथै कर्जा सूचनाको आधारमा समेत अन्य बैंक तथा वित्तीय संस्थाबाट (लघुवित्त वित्तीय संस्था समेत) कर्जा लिए/नलिएको यकीन गर्नु पर्नेछ ।’

तर यसभन्दा अघि प्रवाह भएको कर्जाको हकमा भने ग्राहकहरुले साविक बमोजिमको भुक्तानी तालिका अनुसार कर्जा चुक्ता गर्न सक्नेछन् । यसअघि लिएको कर्जा भुक्ता नहुँदासम्म भने एकभन्दा धेरै संस्थाबाट ऋण लिएकाले समेत भुक्तानी गर्न विद्यमान व्यवस्थाले बाधा पु¥याएको नमानिने उल्लेख छ ।

यस्तै बिनाधितो सामूहिक जमानीमा एउटा ऋणीलाई लघुवित्त संस्थाले कर्जा सीमा ननाघ्ने गरी ७ लाख रुपैयाँ र धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा १५ लाख रुपैयाँसम्म मात्र कर्जा प्रवाह गर्नुपर्ने छ ।

कर्जामा लिएको ब्याजको कम्तिमा ५० प्रतिशत ब्याज बचतमा दिनुपर्ने

लघुवित्तहरुले ऋणीलाई कर्जामा लिने गरेको अधिकतम ब्याजदरको कम्तिमा ५० प्रतिशत ब्याज बचतकर्तालाई दिनुपर्ने भएको छ ।

कर्जामा अधिकतम ब्याज लिने तर सदस्यहरुलाई बचतमा न्यूनतम ब्याजदर दिने प्रवृत्ति रोक्न केन्द्रीय बैंकले बुधबार एकीकृत निर्देशन संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । लघुवित्तका बचतकर्तालाई अधिकतम ब्याजदर दिनेगरी पहिलो पटक यस्तो व्यवस्था गरिएको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

उदाहरणका लागि कुनै लघुवित्तले अधिकतम १५ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गर्दै आइरहेको छ भने त्यस लघुवित्तले आफ्ना बचत/निक्षेपकर्तालाई न्यूनतम ७.५ प्रतिशत वो सोभन्दा बढी ब्याज दिनुपर्ने हुन्छ ।

केन्द्रीय बैंकको निर्देशनमा भनिएको छ, ‘निक्षेप/बचतको व्याजदर सम्बन्धमा लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम व्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम व्याजदर तय गर्नुपर्नेछ ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।