रुस-युक्रेन युद्धको एक वर्ष: १३८ अर्ब डलरको भौतिक क्षति, विश्व अर्थतन्त्रमा हलचल

0
Shares

सन् २०२२ को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि सुरु भएको रुस-युक्रेन युद्ध समाप्त हुने मोडमा अझै पुगेको छैन । सन् २०२३ को फेब्रुअरी २४ मा युद्ध सुरु भएको एक वर्ष पुगेको छ ।

युद्धको एक वर्ष अवधिमा युक्रेनी तथा रुसी जनताले मात्रै होइन, विश्व नै युद्धको प्रभावले तरंगित बनेको छ । सन् २०२२ को डिसेम्बर महिनासम्मको तथ्यांक अनुसार युद्धका कारण युक्रेनमा १ खर्ब ३८ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति पुगिसकेको छ । मानवीय क्षति कति पुग्यो भन्ने यकीन गर्न सकिएको छैन ।

तथापि सन् २०२३ फेब्रुअरी १२ सम्मको संयुक्त राष्ट्रसंघको मानव अधिकारका लागि उच्च आयुक्तको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ७ हजार १९९ मानिसहरुको मृत्यु भइसकेको छ । ११ हजार ७५६ भन्दा बढी मानिसहरु घाइते भएका छन् ।

यस्तै संयुक्त राष्ट्रसंघ कै शरणार्थीहरुका लागि उच्च आयुक्तको कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ६० लाख मानिसहरु विस्थापित भएका छन् भने ८० लाख मानिसहरुले शरणार्थी जीवन बिताइरहेका छन् ।

कोभिड–१९ का कारण धरासायी अवस्थामा पुगेको विश्व अर्थतन्त्र पुनरुत्थान हुन नपाउँदै रुसले युक्रेनमा आक्रमण गरेको थियो । जसको प्रभावले रुस र युक्रेनमा मात्र नभई विश्व अर्थतन्त्रमा गहिरो छाप छोडेको छ ।

अन्नभण्डार युक्रेनमा बारुदको वर्षा

युद्धले कुनै राम्रो प्रतिफल दिँदैन भनेजस्तै रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि ७ हजार बढी मानिसहरुले ज्यान गुमाएका छन् । ८० लाख बढी मानिसहरु आफ्नो देशबाट विस्थापित भई अरुको देशमा गई शरणार्थी जीवन जिउन बाध्य छन् ।

यस्तै संयुक्त राष्ट्रसंघको विकास कार्यक्रमले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ को अक्टोबर महिनासम्म ७१ लाख बढी युक्रेनी जनताहरु गरिबीको रेखा मुनी पुगेका छन् । युद्धकै कारण युक्रेनमा १ खर्ब ३८ अर्ब अमेरिकी डलर बराबरको भौतिक क्षति पुगिसकेको छ भने सन् २०२२मा युक्रेनको कुल ग्राहस्थ उत्पादनमा ३५ प्रतिशतको गिरावट आएको छ । कुनै बेला युरोपको अन्नभण्डारका नामले चिनिने युक्रेनको मलिला जमीनहरुमा यतिबेला रुसी सेनाको घेराबन्दी रहेको छ भने रुसी सेनाले खसाएको मिसाइलहरुले उर्बर जमिन बन्जर बन्न पुगेको छ ।

युक्रेन विश्वको सबैभन्दा ठूलो गहुँ उत्पादक राष्ट्र हो । यसका साथै विश्वका लागि पुग्ने एक तिहाई खाने तेल पनि युक्रेनमै उत्पादन हुने गरेको छ । युक्रेनमा उब्जिएको गहुँ वा सनफ्लावर युरोपमा मात्रै नभई नेपालमा समेत आयात हुने गरेको छ । युद्धका कारण युक्रेनको व्यापार ठप्प छ भने उत्पादनमा समेत कमी आएको छ । जसकारण विश्वभर खाद्यान्न अभावको समस्या देखिएको छ । यस्तै खाद्य पदार्थहरुको मूल्य आकाशिएको छ ।

युद्धग्रस्त युक्रेनलाई अमेरिका, बेलायत, इटाली, जापान, युरोपियन युनियन लगायतका देशहरुले वित्तीय तथा युद्धका लागि आवश्यक पर्ने सामाग्रीहरुको सहयोग गर्दै आएका छन् । जसकारण युद्धको वर्ष दिनपुग्दा समेत युक्रेन हार नमानी रुसको सामना गरिरहेको छ ।

प्रतिबन्धले घेरिएको रसिया

सन् २०२० को अक्टोबर महिनामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले नर्थ एटलान्टिक ट्रिटी संगठनको सदस्यता लिने इच्छा व्यक्त गरेपछि रुस र युक्रेनको सम्बन्ध चिसिएको थियो । रुष्ट बनेको रुसले युक्रेनमा जतिबेला पनि हमला गर्न सक्ने चेतावनी अमेरिकाले दिँदै आएको थियो । अमेरिकाले युक्रेनलाई सजग हुन आग्रह गर्दागर्दै रुसले सन् २०२२ को फेब्रुअरी २४ मा युक्रेनमा हमला गरेको थियो।

युद्धको सुरुवातमा रुसी राष्ट्रपति भलादिमिर पुटिनले युक्रेनमाथिको आक्रमणलाई ‘विशेष सैनिक अप्रेशन’को नाम दिएका थिए । यो अप्रेशनको उद्देश्य युक्रेनलाई ‘डिमिलिटराइज र डिनाजिफाई’ रहेको बताउँदै आएका पुटिनले अहिले युक्रेनमाथि विजय हासिल गर्ने शैलीमा अघि बढेका छन् ।

हाल सम्म रुसले युक्रेनको लुहान्स्क, डोनेटस्क, मरिउपुल, मेलिटपुल, क्रिमिया र खेरसन सहरमाथि विजय प्राप्त गरेको छ भने लिम्यान, इजीयुम हुँदै खारखीब सम्म आक्रमण गरेको छ । रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि अमेरिका, बेलायत, जापान, युरोपियन युनियन लगायतका राष्ट्रहरुले रुसमाथि कठोर प्रतिबन्ध लगाउँदै आएका छन् ।

रुस विश्वको सबैभन्दा ठूलो कच्चा तेल उत्पादक देश रहेको छ । रुसले युरोपियन युनियन अन्तर्गतका राष्ट्रहरुमा मात्रै नभई ५० बढी देशहरुमा कच्चा तेल निर्यात गर्दै आएको थियो । रुसको आम्दानीको प्रमुख स्रोत नै कच्चा तेल, प्राकृतिक ग्यास, स्टील र आल्मुनियक रहेको थियो । युक्रेनमा आक्रमण गरेपछि रुसमाथि विभिन्न प्रतिबन्ध लगाउदै अमेरिका, बेलायत र युरोपियन युनियन अन्तर्गतका देशहरुले तेल खरिद गर्न बन्द गरेका छन् । जसकारण रुसबाट अरु देशहरुमा जाने पाइपलाइनहरु पनि लामो समयदेखि बन्द रहेका छन् ।

रुसी तेललाई प्रतिबन्ध लगाउँदा विश्वभर पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको मूल्य आकाशिएको छ । यति मात्रै नभई अमेरिकाले रुसी बैंकहरुमा भएको डलर समेत जफत गरेका छन् । जसको प्रतिरोधमा रुसले व्यापारिक सम्बन्ध कायम रहेका राष्ट्रहरुसँग रुसी रुबलमै कारोबार गर्न आदेश दिएको थियो । जसकारण अन्तराष्ट्रिय व्यापारमा रुबल र डलर गरी दुई मुद्रा प्रचलनमा आएका छन् ।

पश्चिमा देशहरुले रुसमाथि अनेकन प्रतिबन्ध लगाएता पनि एशियाली राष्ट्रहरुले रुससँगको व्यापार बढाएका छन् । भारत र चीनले रुससँग व्यापार बढाउँदा रुसी अर्थतन्त्रमा पश्चिमा मुलुकहरुले लगाएको प्रतिबन्धको असर देखिएको छैन ।

अन्यौलतातर्फ ढल्किएको विश्व अर्थतन्त्र

वर्तमान अवस्थामा विश्व अर्थतन्त्र मन्दी उन्मुख रहेको छ । जसको मुख्य कारण रुस–युक्रेन युद्ध नभएता पनि यसले निम्त्याएको विकराल परिस्थिति एक अहम् कारक तत्व हो ।

कोभिड– १९बाट धरासायी भएको विश्व अर्थतन्त्रले सामान्य गति लिनु अघि नै रुसले युक्रेनमा आक्रमण गरेको थियो । जसको केही समयमा नै खाद्यान्न तथा पेट्रोलियम पदार्थको मूल्य आकाशिएको थियो । अमेरिका, बेलायत लगायतका शक्तिशाली राष्ट्रहरुमा नै मूल्यवृद्धि दर ४० वर्ष यताकै उच्च स्थितिमा पुगेको थियो । जसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकहरुले संकुचित मौद्रिक नीति अपनाई आक्रामक शैलीमा ब्याजदर बढाइरहेका छन् । विकसोन्मुख तथा अल्पविकसीत राष्ट्रहरुमा गरिबीको रेखा मुनि रहेका मानिसहरुको सङ्ख्या वृद्धि भइरहेको छ ।

रुस विश्वको शीर्ष कच्चा तेल उत्पादक र युक्रेन विश्वको शीर्ष गहुँ उत्पादक राष्ट्र रहेका छन् । युक्रेनको गहुँ निर्यात नहुँदा र रुसमाथि लगाइएका प्रतिबन्धका कारण रुसले युद्धको समय पहिले जसरी तेल निर्यात नगर्दा मुद्रास्फीति दर बढ्दै गएको छ । विकसीत राष्ट्रहरुले ब्याजदर वृद्धि गर्दा विकासोन्मुख राष्ट्रहरु समस्यामा परेका छन् । अमेरिकाले ब्याजदर बढाएर ४.५–४.७ % को रेन्जमा पु¥याएको छ । जसकारण डलरको मूल्य बढेको छ भने विकासोन्मुख राष्ट्रहरुको मुद्रा कमजोर हुँदै गएको छ । स्वदेशी मुद्रा कमजोर हुँदा आयातमा निर्भर रहेका राष्ट्रहरुको क्रयशक्ति घट्दै गएको छ ।

फेब्रुअरी २४ मा रुस–युक्रेन युद्ध जारी रहेको एक वर्ष पुग्छ । यस समय अन्तरालमा हजारौँ आम मानिसहरुले ज्यान गुमाएका छन् । लाखौँ मानिसहरु विस्थापित हुन पुगेका छन् । दुई देशबीचको युद्धको प्रभाव प्रत्यक्ष रुपमा यी दुई देशका नागरिकहरुले भोगिरहेका छन् भने अप्रत्यक्ष रुपमा सारा विश्वले भोगिरहेको छ । युद्धको एक वर्ष पुग्दा समेत युद्ध कहिले अन्त्य हुन्छ अनुमान लगाउन समेत सकिदैन । दुई देशको स्वार्थ बाझिदा निर्मम आम नागरिक र अबोध बालबालिका ज्यान गुमाउन बाध्य छन् । -एजेन्सीको सहयोगमा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।