आशा लघुवित्तको साधारण सभा आह्वान

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत ११ गते छैटौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्त कम्पनीको सञ्चालक समितिको फागुन १६ गते सम्पन्न बैठकले कम्पनीको केन्द्रीय कार्यालयमा उक्त दिन बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो ।

सभाले सञ्चालक समिति बैठकबाट प्रस्तावित चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको आधारमा १४.२९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको माघ २३ गते सम्पन्न सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांश गरी कुल २१.०५३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेर घटाएको हो । नेपाल राष्ट्र बैंकले कम्पनीलाई घटाएर लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो ।

सभाले लाभांश वितरणलाई अन्तिम स्वीकृति दिने, गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने साथै स्वतन्त्र सञ्चालक नियुक्तिको प्रस्ताव पनि पारित गर्नेछ ।  यस्तै सभाबाट आशा लघुवित्त र अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आशा लघुवित्तले फागुन २६ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने भएको छ । बुकक्लोजको अनुसार फागुन २५ गते बिहीबारसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।