ग्लोबल आइएमई समुन्नत योजना–१ खारेजी हुँदै

0
Shares

सामुहिक लगानी कोष योजना ग्लोबल आइएमई समुन्नत योजना–१ आगामी चैत ११ गतेपछि खारेजीमा जाने भएको छ ।  योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले आगामी चैत ११ गते योजनाको अवधि समाप्त हुने भएकाले खारेजीमा लैजाने बताएको हो ।

योजना व्यवस्थापकका अनुसार सामूहिक लगानी कोष नियमावली, २०६७ मा भएको व्यवस्थाअनुसार योजना खारेजीका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डलाई जानकारी गराइसकिएको छ ।  सात वर्ष अवधि रहेको बन्दमुखी प्रकृतिको यो योजनाले २०७२ साल माघ १३ गते सञ्चालनको अनुमति पाएको थियो । योजना खारेजी प्रक्रियाका लागि चैत ९ गते बिहीबारसम्म कायम इकाईधनीहरूलाई योग्य गराइने योजनाको व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।

योजना खारेजीपश्चात् योजनाअन्तर्गतको सम्पत्ति नगदमा परिणत गरी इकाईधनीहरूको स्वामित्वको आधारमा भुक्तानी दिइने जानकारी योजना व्यवस्थापकले गराएको छ । माघ मसान्तसम्मको वित्तीय अवस्थालाई हेर्दा योजना २५ करोड ५३ लाख ५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

एक अर्ब आकारमा १० करोड इकाई जारी गरेको उक्त योजनाको खुद सम्पत्ति माघ मसान्तसम्म १ अर्ब ४ करोड ५४ लाख ७२ हजार रुपैयाँ छ ।
योजनाका इकाईहरू खरीद गरी हालसम्म पनि आफ्नो इकाई अभौतिकीकरण नगराएका इकाईधनीहरूलाई यथाशीघ्र इकाई डिम्याट गराउन समेत योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले अनुरोध गरेको छ ।

योजना अवधिमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ४ प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।