सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सुरेशलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति

0
Shares

सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा सुरेशलाल श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन भएको छ । फागुन १७ गते बिहान बसेको सञ्चालक समितिको प्रथम बैठकले सुरेशलाल श्रेष्ठलाई सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।

साविक सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स लिमिटेड मर्ज भई फागुन १७ गतेदेखि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरू भएसँगै कम्पनीमा संञचालक समिति पनि परिवर्तन भएको हो ।

मर्जरपछि बनेको नयाँ कम्पनीमा नयाँ सञ्चालक समितिसमेत गठन भएको हो । कम्पनीमा सुरेशलाल श्रेष्ठको अध्यक्षतामा ६ सदस्यीय नयाँ सञ्चालक समिति गठन भएको छ । नयाँ समितिका सञ्चालक समितिका अन्य सदस्यहरूमा पवनकुमार अग्रवाल, राजनकुमार श्रेष्ठ, राहुल अग्रवाल, बलराम श्रेष्ठ र रामेश्वरप्रसाद बस्याल रहेका छन् ।

दुई कम्पनी एक बराबर एक सेयर आदान–प्रदान अनुपात (स्वाप रेसियो) मा मर्जरमा गएका हुन् । एकीकृत संस्थाको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँभन्दा धेरै पुगेको छ भने बीमा कोषको आकार २ अर्ब ३४ करोड, कसल सम्पत्ति १० अर्ब २५ करोड, कुल लगानी ७ अर्ब ३० करोड, बीमिति संख्या ४ लाख १७ हजार, शाखा संख्या १२५, कुल बजार पुँजीकरण १८ अर्ब २३ करोड र कर्मचारी संख्या ६५० कायम भएको छ ।

विसं २०७९ असार २७ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका कम्पनीले साढे ७ महिनापछि मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार थालेका हुन् । मर्जरका लागि नेपाल बीमा प्राधिकरणबाट माघ १६ गते, नेपाल धितोपत्र बोर्डबाट माघ २४ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन ८ गते अन्तिम स्वीकृति प्राप्त भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।