इन्टरनेट सेवा प्रदायक क्लासिक टेकको वार्षिक आम्दानी ८७ करोड

0
Shares

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सन् २०२२ मा ८७ करोड ५० लाख सञ्चालन आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२१ मा ८३ करोड ७० लाख आम्दानी गरेको थियो । सन् २०२१ को तुलनामा कम्पनीको आम्दानी ५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको आम्दानीमा वृद्धि भएसँगै कम्पनीका अन्य वित्तीय सूचांकहरुमा सकरात्मक सुधार देखिएको हो ।

ह्रासकट्टी, अर्मोटाइजेसन, ब्याज, भाडा र कर अघिको कम्पनीको नाफा सन् २०२२मा कुल सञ्चालन आम्दानीको १७.८७ प्रतिशत रहेको छ । जुन सन् २०२१मा १६.७६ प्रतिशत रहेको थियो । यस्तै कम्पनीले लिएको कर्जाको ब्याज तिर्न सक्ने क्षमता सन् २०२१मा कुल कर्जाको ४.१६ गुणा थियो भने सन् २०२२मा ४.४३ गुणा रहेको छ ।

कम्पनीका अधिकतम गतिविधि चालु पुँजीमा निर्भर रहेका कारण पनि कम्पनीको आम्दानीमा ठूलो वृद्धि देखिएको छैन । यस्तै प्रविधि जडानका क्रममा कम्पनीले धेरै पुँजी खर्चिनु पर्ने तर आम्दानी खर्च अनुसारको नहुँदा पनि कम्पनीको आम्दानी प्रभावित भएको छ । पछिल्लो समयमा नेपाली बजारमा इन्टरनेट प्रदायक कम्पनीको सङ्ख्या बढ्दै गएको छ । हाल नेपालमा ६० लाइसेन्स प्राप्त इन्टरनेट प्रदायक कम्पनीहरु सञ्चालनमा रहेका छन् । कम्पनीहरु बीच बढ्दो प्रतिस्पर्धाले पनि क्लासिक टेकको आम्दानी प्रभावित रहेको छ ।

कम्पनीले देशभर आफ्नो सञ्जाल विस्तार गरेको छ । देशभर गरी कम्पनीका १०४ शाखाहरु सञ्चालनमा रहेका छन् । नेपालका ७७ जिल्लाहरु मध्ये कम्पनीले ७५ जिल्लामा सेवा विस्तार गरेको छ।

कम्पनीले गरेको लगानीको प्रतिफल यथाशीग्र नदेखिएता पनि दीर्घकालीन रुपमा कम्पनीको आम्दानी बढ्ने देखिन्छ । प्रविधिमैत्री विद्यालय, सरकारी कार्यालय तथा पछिल्लो समयमा इन्टरनेट प्रयोगकर्ताहरुको सङ्ख्यामा भएको वृद्धिले पनि आगामी समयमा कम्पनीको आम्दानी बढ्ने निश्चित छ।

सन् २००९ मा जीरो पाइन्ट रेमिट प्रालिको नामबाट स्थापना भएको कम्पनीले सन् २०१०बाट इन्टरनेट सेवा प्रदायकको लाइसेन्स लिई इन्टरनेट सेवा प्रदायक र सन् २०१४मा नेटवर्क सेवा प्रदायकको लाइसेन्स लिई नेटवर्क र इन्टरनेट सेवा प्रदायकको काम गर्दै आएको छ।

कम्पनी नेपालको चौथो ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी रहेको छ । कम्पनीका अध्यक्ष प्रमेश खरेल रहेका छन् ।

१ अर्ब २९ करोड ९९ लाख ८० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि कम्पनीले रेटिङ गराएको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले ७८ करोड ९९ लाख बराबरको दीर्घकालीन कर्जाका लागि डबल बी र ५१ करोड ९० हजार बराबरको अल्पकालीन कर्जाका लागि ए४ रेटिङ गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।