सहकारीको सहयोगमा स्वरोजगार बन्दै महिला


पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् ।

जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीको स्रोत बन्दै गएका हुन् । विगतमा घरको काम र घाँसपातमा व्यस्त हुने महिला गाउँघरमा सहकारी खुलेपछि अहिले आफ्नो र परिवारका लागि रकम जम्मा गर्नाका साथै ऋण लिएर आयआर्जनसमेत गर्न थालेका छन् ।

बेफुर्सदिला हुन थालेका जिल्लाका अधिकांश महिलाले रकम झिक्ने र राख्ने गर्दा सहकारी संस्था पनि फलदायी तथा नाफामुखी बन्दै गएका छन् ।

महिलाले सञ्चालन गरेका सहकारीका कारण अन्य स्थानीय महिलाले पनि गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका–१८ फुर्सेखालीस्थित एकता महिला बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताए ।

यो संस्था स्थापनाकालदेखि महिलाकै नेतृत्वमा सञ्चालन हुँदै आएको छ । यस्ता सहकारी संस्थामार्फत महिलालाई सशक्तीकरण गराउनाका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ थियो ।

संस्थामा आवद्ध महिलामा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको अध्यक्ष अधिकारीले उल्लेख गरे । “संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ,” उनले भने ।

विसं २०५५ मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म आवद्ध पाँच सय १४ सदस्य मार्फत पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।

संस्थाले मुख्यत बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमा समेत जोड्दै लगेको छ । घोराही उपमहानगरपालिका–१८ हात्तीखर्क निवासी सदस्य रीता नेपालीले विगत लामो समयदेखि बेसारखेती गर्दै आएकी छन् ।

सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले प्रतिकिलो तीन सय रुपैयाँमा बिक्री वितरण गर्दै आएका छन् । रीताजस्तै यहाँका धेरै महिला दिदीबहिनीले बेसारखेती गर्दै आएका छन् ।

घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसार खेती गर्दै आएको उनको भनाइ थियो । सहकारी संस्थामा आवद्ध सदस्यहरुका उत्पादनलाई संस्थाले चाना काटेर, सुकाएर र पिसाएर बेच्ने गर्दै आएको छ ।

स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि उक्त संस्थाले बेसार बेच्ने गरेको छ । हात्तीखर्क बेसार खेतीका लागि राम्रो सम्भावनाको क्षेत्र रहेको छ । संस्थामा आवद्ध सदस्यहरुले पर्याप्त मात्रामा बेसार उत्पादन गरेपनि बजारीकरणका लागि भने केही समस्या रहेको सहकारीकी उपाध्यक्ष सुनकुमारी विष्टले बताइन् ।

हामी सबै सदस्यहरु बाहिरको बेसारभन्दा संस्थाबाटै किनेर लैजाने गरेको उनले जानकारी गराइन् । वार्षिक एक लाख रुपैयाँभन्दा बढी आम्दानी गर्ने संस्थाले बेसार पनि बिक्री गर्दछ । सदस्यहरुले मासिक पाँच सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्म सहकारीमा बचत गर्नाका साथै ऋण लिएर विभिन्न तरकारीखेती, किराना पसल अन्य उद्यम तथा व्यवसाय गर्दै आएका छन् ।

यस्तै सोही ठाउँका कबल बुढाले पनि अल्लो व्यवसाय गर्दै आएका छन् । सहकारीबाट सहुलियतमा ऋण लगेर उहाँले अल्लोको व्यवसाय गर्दै आएका हुन् । आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आवद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यमा जोड्न सकिने अध्यक्ष अधिकारीले बताए ।

सहकारीले विभिन्न समयमा सीपमूलक तालिमका साथै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ ।
तालिममा सहकारीको महत्व, सहकारीको सिद्धान्त, सहकारीको भूमिका, बचत किन, बचतका फाइदा, सहकारीका ऐन, नियम, लैङ्गिक हिसा न्यूनीकरणलगायत विषयमा जानकारी दिइन्छ ।

साथै संस्थाले कुनै सदस्यको मृत्यु भएमा १० हजार रुपैयाँ र सुत्ेकरी भएको बेला दुई हजार रुपैयाँ सहयोग उपलब्ध गराउँदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।