आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड


सिन्धुपाल्चोकको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।

समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन् । त्यसले गर्दा यहाँको चहलपहल बढेको छ ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ ।  भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो ।

कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए । सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए ।

बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन् । ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाण्डौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्य बताउँछन् ।

अहिले हिउँदको समयमा सवारीसाधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ । भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तिमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले सिन्धुपाल्चोकका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन् ।

सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटलको आम्दानी बढेको बताउँछन् । सडक सुधार गर्नसके अझै पर्यटक बढ्ने उनको विश्वास छ ।

सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन् । काठमाण्डौंबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका हुन्छन् ।

धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ ।

सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो । सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ । पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको आयस्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।