पत्रकार फेलोसिप कार्यक्रम घोषणा, पन्ध्र पत्रकारले ४ लाख पुरस्कार पाउने

0
Shares

नेपाल पत्रकार महासंघसंगको सहकार्यमा बैंक तथा वित्तीय संस्था परिसंघ र नेपाल बिजनेस इन्टिस्च्युटले पत्रकारहरुबीच राष्ट्रब्यापी लेख लेखन प्रतियोगिता (नेशनल जर्नालिस्ट फेलोसीप प्रोगाम २०२३) सुरु गरेका छन् ।

वर्तमान अवस्थामा देखिएका आर्थिक समस्याहरुको समाधान र यसको रोडम्यापबारे राष्ट्रियस्तरमा बहस पैरवी गर्दै समाधानको निचोड निकाल्नका लागि प्रतियोगीता आयोजना गरिएको आयोजकले जनाएका छन् ।

वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र विषयमा २ हजार ५०० शब्द नबढ्ने गरी देशभरका पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यममा कार्यरत पत्रकारहरु र स्तम्भकारहरुले लेख पठाउन सक्ने नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले जानकारी दिए ।

उत्कृष्ट १५ लेखका लेखकलाई प्रधानमन्त्रीको हातबाट प्रमाणपत्रका साथै प्रथम, द्वितिय, तृतीय, चौथो र पाँचौ पुरस्कारकारुपमा क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार रुपैयाँदरले सम्मान गरिने छ । साथै उत्कृष्ट १० लेखलाई प्रति लेखबापत १० हजारका दरले नगद तथा प्रमाणपत्र मार्फत प्रोत्साहन रकम उपलब्ध गराइने आयोजकले जनाएका छन् ।

नेपाल सरकारसहितको सहभागीतामा २०८० साल बैशाख पहिलो हप्ता काठमाडौंमा आयोजना हुने नेपाल बिजनेस समिटको पुर्वसन्ध्यामा जर्नालिष्ट फेलोसिप कार्यक्रम आयोजना गरिएको नेपाल बिजनेस इन्स्टिच्युटका अध्यक्ष विशाल गैरले जानकारी दिए । उनका अनुसार अर्थतन्त्रका प्रमुख चुनौती, अवसर र भावी रोडम्यापबारे पत्रकारहरुको सृजनशील क्षमताबाट प्राप्त लेखलाई प्रोत्साहन गरी राष्ट्रिय अर्थतन्त्रको सबलीकरण गर्ने उद्देश्यले यो प्रतियोगीता आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले कुनै पनि सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुले यो प्रतियोगीतामा भाग लिन सक्ने बताए । उनका अनुसार सहभागी पत्रकारले आफु कार्यरत सञ्चार माध्यमको पुष्टि हुने पत्रकार परिचय पत्र, नियुक्ती पत्र वा मिडिया हाउसको पत्र (कुनै एक) सहित कतै पनि प्रकाशित नभएको खोजमुलक र तथ्यपरक लेख अनलाइन मार्फत २०७९ साल चैत्र १३ गतेभित्र आवेदन दिन सकिने छ ।

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का महानिर्देशक डा. गोपाल तिवारीले लेखको मौलिकता, तथ्यपरकता र लेखले औल्याएका भावी मार्गदर्शनलाई छनौटको आधार बनाइने जानकारी दिए । अनलाइन माध्यमबाट प्राप्त लेखहरुलाई ५ सदस्यीय छनौट समितिले विभिन्न मापदण्डका आधारमा छनौट गर्नेछ र छनौट भएका उत्कृष्ट लेखहरुलाई नेपाल बिजनेस समिटको समुद्घाटन सत्रमा सम्माननीय प्रधानमन्त्रीको हातबाट पुरस्कृत गरिने जनाइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।