सात महिनामा डेढ खर्बको धितोपत्र सुचीकृत, २३ अर्बको सार्वजनिक निष्कासन अनुमति

0
Shares

चालु आर्थिक वर्ष २०७९/८० को सात महिना अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा डेढ खर्ब बढीको धितोपत्र सूचीकृत भएको छ । यस्तै यस अवधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले करिब २३ अर्ब मूल्य बराबरको सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आवको साउनदेखि माघ मसान्तसम्ममा ३५ अर्ब बराबरको विकास ऋणपत्र, २८ अर्ब ४४ करोड बराबरको डिबेन्चर, ६४ अर्ब ७५ करोड बराबरको साधारण सेयर, १४ अर्ब ३२ करोड बराबरको बोनस सेयर, ४ अर्ब ४९ करोड बराबरको म्युचुअल फण्ड र ३ अर्ब ६७ करोड बराबरको हकप्रद सेयर गरी कुल १ खर्ब ५० अर्ब ६८ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०७९ माघ मसान्तमा सूचीकृत ७ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य ७ खर्ब १ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले कुल २२ अर्ब ४८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । यस अवधिमा ९ अर्ब २० करोड बराबरको डिबेन्चर, ७ अर्ब ७५ करोड बराबरको म्युचुअल फण्डका इकाई, ४ अर्ब ५८ करोड बराबरको साधारण सेयर र ९५ करोड बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिइएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।