कियाको ‘कारेन्स’ कार नेपाली बजारमा भित्रियो, मूल्य कति ?


कोरियाली कार निर्माता कियाले नयाँ एमपीभी कारेन्स नेपाली बजारमा ल्याएको छ । कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजमार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो ।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’ लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ । ‘कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प हो,’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सेफ्टी, स्पेस र स्टाइलको रुपमा आएको छ ।’

किया कारेन्स भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (आईसीओटीवाई) २०२३ अवार्ड प्राप्त एमपीभी हो । हालै सम्पन्न भारतको सबैभन्दा महत्वपूर्ण गाडी पुरस्कार आईसीओटीवाईको १८औं संस्करणमा एमपीभीले किया कारेन्सलाई उक्त अवाड प्रदान गरेको हो ।

गत जनवरीमा भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको थियो । यसअघि सन् २०२२ को जुनमा ७ हजार ८९५ युनिट बिक्री भएको थियो । एक वर्षअघि बजारमा आए यता भारतमा ७० हजार ६५६ युनिट कारेन्स बिक्री भएको छ ।

दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध हुने कारेन्स ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटरका छन् । ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ । १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन छ ।

कारेन्स ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ । यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ । लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर पनि छ, जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ ।

कारेन्सका विशेषताहरुमा १९५ एमएमको ग्राउण्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रूमेन्टेसन, सनरुफ, हावाको स्पिड एडजस्ट गर्न मिल्ने छतमा जडित एयरकन भेन्टस, सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिटहरु, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि पर्छन् । सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेससहितको कारको तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिने विज्ञप्तिमा उल्लेख छ ।

कारेन्स प्रिमियमको बजार मूल्य ४८ लाख ९० हजार र कारेन्स प्रेस्टिजको ५२ लाख ९० हजार रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।