हिमालयन रि इन्स्योरेन्सले ६ महिनामा कमायो साढे ४ करोड, ६२.८३% ले घट्याे मुनाफा

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा तथा शंकर ग्रुप सहितका चर्चित घरानाहरुको लगानी रहेको हिमालयन रि इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ४ करोड ६३ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको सोही अवधिमा १२ करोड ४७ लाख ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । एक वर्षको अवधिमा कम्पनीको खुद नाफा ६२.८३ प्रतिशतले घटेको हो । यद्यपी गत असोजसम्म कम्पनी ५ करोड ३० लाख २८ हजार घाटामा गएकोमा पछिल्लो त्रैमासमा आकर्षक सुधार गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले २ अर्ब ३६ करोड ३३ लाख ५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आवको यसै अवधीमा कम्पनीले २९ करोड ९९ लाख ७५ हजार १५ रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

यस अवधिमा कम्पनीको जगेडा कोष १२ करोड ८९ लाख ३५ हजार रुपैयाँबाट बढेर १७ करोड ७७ लाख ६८ हजार रुपैयाँ सञ्चिति पुगेको छ । यस्तै बीमा कोषको आकार ४८ लाख १९ हजारबाट बढर १३ करोड ६९ लाख ९८ हजार ११६ रुपैयाँ सञ्चिती पुगेको छ । महाविपत्ति कोषमा १ करोड ५० लाख ५९ हजार रहेको छ ।

चालु आवको पुस मसान्तसम्ममा हिमालयन रिले लगानी कर्जा तथा अन्यबाट ८ करोड ५२ लाख, अन्य प्रतक्ष्य आयबाट १२ करोड २४ लाख ९७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

समीक्षा अवधीमा कम्पनीले १४ करोड १७ लाख ५३ हजार १७८ रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधीमा यस्तो दाबी भुक्तानी जम्मा तीन करोड रुपैयाँ थियो ।

चालु आवको पुस मसान्तसम्म कम्पनीले पुनरबीमा कमिसन वापत ६० करोड ८० लाख खर्च गरेको छ भने ७ करोड ९९ लाख ९० हजार व्यवस्थापन खर्च गरेको छ । गत आवमा यस्तो खर्च ५ करोड ६२ लाख रुपैयाँ थियो ।

कम्पनीले २ अर्ब ४८ करोड ८९ लाख २१ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा १४ करोड १७ लाख ५३ हजार दाबी भुक्तानी गरेको कम्पनीले दाबी भुक्तानी गर्न बाँकी रकम अझै ४२ करोड ४१ लाख ६९ हजार ६९९ रुपैयाँ छ ।

सात अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ३ अर्ब रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा जारी गर्न बाँकी छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।