मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न दुई इन्स्योरेन्सले आह्वान गरे विशेष साधारण सभा

0
Shares

एक आपसमा मर्जर सम्झौता गरेका आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले मर्जरसम्बन्धी प्रस्ताव पारितका लागि विशेष साधारण सभा आह्वान गरेका छन् ।

दुबै कम्पनीले चैत २२ गते एकै दिन विशेष साधारण सभा बोलाएका हुन् । आइएमई जनरलले लैनचौर ब्यांक्वेट लैनचौर, काठमाडौंमा बिहान ११ बजे तथा प्रुडेन्सियल इन्स्योरेन्सले होटल इच्छा सिमरा, बारामा बिहान ११ बजे विशेष साधारण सभा बोलाएका छन् ।

विशेष साधारण सभाबाट दुबै कम्पनीले मर्जरका लागि गरिएको सम्झौता तथा मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदनसमेतका आधारमा निर्धारण भएको एक बराबर एक अनुपातको सेयर स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्ने तथा मर्जर पश्चात् आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले नियामक निकायहरूबाट मर्जर प्रक्रिया सम्पन्न गर्नका लागि आगामी दिनमा प्राप्त निर्देशनका आधारमा काम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी समेत दिनेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि आइएमई जनरलले चैत १३ गते र प्रुडेन्सियलले चैत १७ गते बुकक्लोज तय गरेका छन् । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहने सेयरधनीहरु मत्रै विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका गरेका दुई कम्पनीले चैत ५ गते मर्जरका लागि अन्तिम सम्झौता गरिसकेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।