महासंघमा महादंगलः उम्मेदवारको टुंगो नलाग्दा तातेन माहोल, दिनेश श्रेष्ठ सेफ बस्दा बदलियो समिकरण


नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभाको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी पनि बढ्दै गएको छ । यद्यपी पछिल्ला निर्वाचनमा जस्तो यस पटक चुनावी माहोल भने गरमागरम हुन सकिरहेको छैन ।

विगतमा नेतृत्वका आकांक्षीहरुले भव्य कार्यक्रम गरेर टीम सहित उम्मेद्वारी घोषणा गर्दै चुनावी अभियानलाई तिब्र बनाउने गरेका थिए । तर यस पटक भने आफ्नो उम्मेदवारी घोषणा गरेका उम्मेदवारहरुले समेत आफ्नो समुह बनाएर सबै आकांक्षीलाई अघि सार्न सकिरहेका छैनन् ।

मतदाता भेट्नका लागि देश दौडाहा विगतको जस्तै भए पनि महासंघको साख जसरी गिरेर गएको छ, चुनावी चर्चा पनि त्यसरी नै सुस्त बनेको छ । यस क्रममा वरिष्ठ उपाध्यक्षका आकांक्षी एवं हाल वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले औपचारिक रुपमा आफ्नो प्यानलका ३ उपाध्यक्षहरुको नाम सार्वजनिक गराएका छन् भने अन्य उम्मेदवारको सूची सार्वजनिक भएको छैन ।

अन्जनले आफ्नो प्यानलमा जिल्ला नगरतर्फको उपाध्यक्षमा अरुणराज सुमार्गीलाई अघि सारेका छन् भने एशोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा मनिशलाल प्रधानलाई अघि सारेका छन् ।

उता वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका हालका जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले धेरै उम्मेदवारको भिडमा आफुलाई सेफ जोनमा राख्ने प्रयत्न गरेका छन् । जिल्ला नगरमा बलियो पकड रहेका श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा ४ जनाको प्रतिष्पर्धा हुँदा निर्वाचन पछि ३ जना महासंघबाटै बाहिरिनु पर्ने र महासंघमा अनुभवी व्यक्तिको खडेरी पर्ने भन्दै उमेशलाल श्रेष्ठको प्यानलबाट जिल्ला नगरको उपाध्यक्षमा नै दोहोरिने निर्णयमा पुगेका छन् । योसँगै उनी उमेशलाल टीमबाट चुनावी अभियानमा आफ्नो सक्रियता बढाई रहेका छन् ।

दिनेश श्रेष्ठ वरिष्ठ उपाध्यक्षको प्रत्यासीबाट व्याक भएसँगै त्रिपक्षीय भिडन्त हुने भएको हो । यद्यपी औपचारिक रुपमा वरिष्ठ उपाध्यक्षका अरु उम्मेदवारले टीम घोषणा नगरेका कारण अन्तिम समयसम्ममा ३ मध्ये एक जना उम्मेदवार पछि हट्न सक्ने महासंघ सम्बद्ध व्यक्तिहरुका बिचमा चर्चा भईरहेको छ । यसो भएको खण्डमा भने वरिष्ठ उपाध्यक्षमा दुई जनाको भिडन्त हुनेछ, को पछि हट्ने भन्ने प्रष्ट भइसकेको छैन ।

उता महासंघमा हाल एशोसिएट्सतर्फका उपाध्यक्ष रामचन्द्र संघई पनि वरिष्ठ उपाध्यक्षका लागि दौडधुप गरिरहेका छन् । औपचारिक रुपमा टीम घोषणा गरिनसकेका संघई र उमेशलालका बिचमा उपाध्यक्षका उम्मेदवार तानातानको अवस्था छ । लोकप्रिय उम्मेदवार भएका कारण दुवैतर्फको प्यानलमा परेको महासंघ सम्बद्ध व्यवसायी बताउँछन् ।

संघाईले आफ्नो प्यानलमा एशोसिएट उपाध्यक्षमा भरत आचार्यलाई समेटेको अनौपचारिक चर्चा चले पनि उमेशलालतर्फ पनि एशोसिएट उपाध्यक्षमा भरतको नाम नै चर्चामा छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल निकट मानिने आचार्यले भने कुनै प्यानलमा समावेश नभई एशोसिएट उपाध्यक्षमा चुनावी गतिविधि अघि बढाईरहेका छन् । चन्द्र ढकालले गर्ने निर्णय अनुसार आचार्य कुन प्यानलमा जान्छन् वा एकल रुपमा अघि बढ्छन् भन्ने चासो मतदाताहरुमा छ ।

संघईकै प्यानलमा जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा सन्दीप अग्रवालको चर्चा चलिरहेको छ । यद्यपी संघईले औपचारिक रुपमा आफ्नो टीम घोषणा गरिसकेका छैनन् ।

यता पछिल्लो पटक वरिष्ठ उपाध्यक्षमा पराजित भएका उमेशलाल श्रेष्ठ फेरी वरिष्ठ उपाध्यक्षको दौडधुपमा छन् । उनको टीममा जिल्ला नगरतर्फका हालका उपाध्यक्ष दिनेश श्रेष्ठले सोही पदमा दोहोर्याउने गरि आफुलाई सेफ जोनमा राखे पनि उमेशलालले आफ्नो टीममा एशोसिएट र वस्तुगततर्फका उम्मेदवारको टुंगो लगाउन सकिरहेका छैनन् । संघईले एशोसिएट उपाध्यक्षमा दाबी गरेका भरत आचार्य उमेशलाल टीममा पनि एशोसिएट उपाध्यक्षको उम्मेदवार हुने बजार चर्चाले उम्मेदवार तानातानको अवस्था बनेको हो ।

उम्मेदवार तानातानको अवस्थाले रामचन्द्र र उमेशलालको टीममा को अटाउँछ भन्ने निक्र्यौल हुन सकेको छैन । अहिले चलेको चर्चामा उमेशलाल प्यानलमा दिनेश श्रेष्ठ बाहेक दुवैको प्यानलमा उपाध्यक्षका प्रत्यासीहरु हेरफेर हुन सक्ने सम्भावना छ ।

महासंघ निर्वाचनमा जातीय आधारमा पनि मत प्रभावित हुने गरेको विगतको अनुभव छ । विशेष गरी माडवारी र नेवार समुदायको धेरै वर्चस्व रहेको व्यवसायिक सर्कलमा यी दुई पक्षको सन्तुलन तथा समीकरण मिलाउँदा पनि निर्वाचनको परिणाममा असर पर्ने देखिन्छ । यो कसरत पनि भित्र भित्रै भईरहेका कारण उमेशलाल र रामचन्द्रले टीमलाई अन्तिम रुप दिन नसकेको हुन सक्ने महासंघका एक जना पुर्व अध्यक्षको बुझाई छ ।

“नतिजा आफ्नो हातमा पार्नका सबै विकल्पमा तयारी गरिरहेका कारण नै वपरष्ठ उपाध्यक्षका प्रत्यासी साथीहरुले आफ्नो टीम बनाउन हतार नगर्नु भएको होला,” उनले भने ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।