प्रभु क्यापिटलले अपाङ्गता भएका व्यक्तिलाई डिम्याट र मेरो सेयर खातामा शुल्क नलिने


प्रभु क्यापिटल लिमिटेडले अपाङ्गता भएका व्यक्तिलाई डिम्याट तथा मेरो सेयर खाता खोल्दा कुनै पनि शुल्क नलिने भएको छ ।

प्रभु क्यापिटल लिमिटेडले सन्चालन गरेको कार्यक्रममा कार्य सञ्चालन विभाग प्रमुख बसन्त उपाध्यायले शारीरिक तथा मानसिक कमी कमजोरी भई अपाङ्गता भएका ‘क’ तथा ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिहरुलाई प्रभु क्यापिटल मार्फत डिम्याट तथा मेरो सेयर खोल्दा कुनै पनि शुल्क नलाग्ने तथा आजीवन सो सुविधा निशुल्क पाउने व्यवस्था रहेको समेत जानकारी दिएका हुन् ।

यस्तै उनले पूँजी बजार समेत एक राम्रो स्रोत रहेको बताउँदैै यसले बचत गर्ने बानीको विकास हुने बताए । कार्यक्रममा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झाले सेयर बजारमा लगानी गरी आर्थिक उपार्जन गरी आर्थिक रुपमा सबल बन्न सक्ने जीकिर गरे ।

उनले आगामी दिनमा अझै प्रभावकारी तालिमहरु पनि प्रदान भएमा यसले बहिराहरुलाई नेपालको शेयरबजारमा लाग्नको लागि थप प्रेरित गर्ने बताए ।

हात्तीसार स्थित नेपाल हाउसमा सम्पन्न भएको कार्यक्रममा काठमाण्डौं बहिरा संघ नेपाल अन्र्तगत रहेका सदस्यहरुमध्ये ५० भन्दा बढी सदस्यहरुको सहभागिता रहेको थियो । ‘ग्लोबल मनि विक २०२३’ को अवसरमा भएको कार्यक्रममा सेयर बजारमा कसरी प्रवेश गर्ने र सेयर बजारमा लगानी गर्दा हुने फाइदाका विषयमा चर्चा भएको थियो ।

प्रभु क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिका लागि समय–समयमा सेयर तथा पुँजी बजारसँग सम्बन्धित तालिम कार्यक्रम, विविध वर्कसप तथा सचेतना कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।