नेप्से १ हजार ८८८ बिन्दुमा, नेप्से २७ अंकले घट्दा लगानीकर्ताको सम्पत्ति ३७ अर्ब गुम्यो

0
Shares

सेयर बजार परिसूचक मापक नेप्से आइतबार १ हजार ८८८ दशमलव २७ बिन्दुमा झरेको छ । आइतबार १.४० प्रतिशत अर्थात २६.८७ अंकले घटेसँगै बजार सूचक पुरानो बुल १८८१ को रेकर्ड बिन्दुभन्दा ७ अंक माथि झरेर अडिएको हो ।

आज कायम भएको नेप्से सूचक २०७९ पुस ७ गते यताकै न्यून बिन्दु हो । उक्त दिन नेप्से १८६७.२१ विन्दुमा रहेको थियो । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ५.०१ अंकले घटेर ३५५.९९ बिन्दुमा झरेको छ । कारोबार सवा १ अर्ब रुपैयाँ बढीको भएको छ ।

नेपालको बैंकिङ्ग प्रणालीमा रहेको खराब कर्जामा अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋणको आकार अनुसार १० ठूला बैंक छानेर विदेशी लेखापरीक्षकबाट लेखापरीक्षण गराउने भएसँगै लगानीकर्तामा बजारप्रतिको मनोबल कमजोर भएको हो । कोभिडकालमा प्रवाह भएका धेरै ऋण असुली नहुँदा पनि बैंकहरुको खराब कर्जा अनुपात धेरै नबढेका कारण आईएमएफले लेखापरीक्षण गराउन लागेको हो ।

अर्कोतर्फ ब्याजदर घट्दो क्रममा रहेको भएपनि मन्त्रिमण्डल विस्तार नभईसकेको अवस्थाका कारण पनि नयाँ अर्थमन्त्रीको रुपमा को आउने भन्ने निर्कोल नभइसकेको अवस्थाले पनि बजारमा लगानीकर्ताहरु ‘पर्ख र हेर’ को अवस्थामा रहेका छन् । यद्यपी मन्त्रालयको भागबण्डमा नयाँ अर्थमन्त्री नेपाली कांग्रसबाट आउने पक्काजस्तै भएको छ । साथै बजारमा निरन्तर आएको दोहोरो अंकको गिरावटका कारण बजारमा लगानीहरुले बजार थप घट्नसक्ने आंकलका साथ लगानी वृद्धि गरेका छैनन् । यद्यपी घट्दो बजारमा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार घटेको छ । बिहीबारको तुलनामा आइतबार १३ करोडले कारोबार घटेको छ ।

आइतबारको बजारमा २५९ कम्पनीका ३७ लाख ५४ हजार ३३४ कित्ता सेयर ३२ हजार १६८ वटा संख्यामा खरिद बिक्री हुँदा कारोबार रकम १ अर्ब २८ करोड ९३ लाख ७१ हजार ५३१ रुपैयाँमा समेटिएको छ ।  कारोबारमा आएका सबै १३ वटै उपसमुहगत सूचक घटेका छन् । सबैभन्दा धेरै म्युचुअल फन्डको सूचक ४.७७ प्रतिशत, लघुवित्त ३.८५, ब्यापार २.०४, उत्पादनमुलक २.०१, विकास बैंक १.५१, बैंकिङ्ग १.४२, फाइनान्स १.१५ र निर्जीवन बीमा १.१४ प्रतिशतले घटेको छ ।

कारोबारमा आएकामध्ये मायाखोला हाइड्रोपावर र एशियन लाइफको सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको छ । वृद्धिसँगै मायाखोला हाइड्रोपावरको प्रतिकित्ता ३५३ रुपैयाँ ३० पैसा र एशियन लाइफको सेयर प्रतिकित्ता ३६१ रुपैयाँ ४० पैसा पुगेको छ । कालिञ्चोक दर्शनको ६.०१, गुराँस लाइफको ४.२६ र सिद्धार्थ इक्वीटी फन्ड इकाईको भाउ ३.९० प्रतिशतले बढेको छ ।

उता जीवन विकास लघुवित्त, जाल्पा सामुदायिक र युनिक नेपाल लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । महिला लघुवित्त ९.९५, किसान लघुवित्त ८.८१, नेष्डो समृद्ध लघुवित्त ८.४४, मानुषी लघुवित्त ८.२० र नेशनल माइक्रोफाइनान्सको सेयर मूल्य ८.०८ प्रतिशतले घटेको छ ।

एक अर्ब २८ करोडको सेयर कारोबार भएको आइतबारको बजारमा हिमालयन डिष्टिलरीको सर्वाधिक ८ करोड ६२ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको ४६ हजार ४२७ कित्ता सेयर १ हजार ४१८ वटा संख्यामा खरिद बिक्री भएका हुन् । यस्तै एनआईसी एशिया बैंक ७ करोड ९५ लाख, नेष्डो समृद्ध लघुवित्त ७ करोड ९८ हजार, नबिल बैंक ३ करोड ४७ लाख र शिवम् सिमेन्टसको २ करा्ड ४५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

आइतबारको कारोबारपछि समग्र बजार पुँजीकरण २७ खर्ब ३३ अर्ब १६ करोड ४८ लाख रुपैयाँमा झरेको छ । गत बिहीबारको तुलनामा २७ अंकले नेप्से घट्दा एकैदिन लगानीकर्ताको सम्पत्ति मापक बजार पुँजीकरण ३६ अर्ब ९१ करोड ४ लाख रुपैयाँले घटेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।