एक अंकले मात्र बढ्यो सेयर बजार, कारोबार ४३ प्रतिशतले घट्यो

0
Shares

सेयर बजार बुधबार एक अंकले मात्र बढेको छ । मन्त्रिमण्डल विस्तारमा भएको ढिलाईका कारण लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहँदा दिनभर घटेको बजारमा अन्तिम समयमा आएर सामान्य बढेर बन्द भएको छ ।

बुधबार सूचक १.०२ अंकले बढेर १९१९.४२ अंकमा पुगेको छ । दिनभरमा २५८ कम्पनीका २५ लाख ३९ हजार ४८ कित्ता सेयर २५ हजार ४१३ वटा संख्यामा खरिद बिक्री भएका छन् । कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँमा समेटिएको छ । अघिल्लो दिन मंगलबारको तुलनामा कारोबार रकम ६२ करोड ७५ लाखले घटेको हो । मंगलबार एक अर्ब ४४ करोड ३७ लाखको सेयर खरिद बिक्री भएको थियो ।अघिल्लो दनको तुलनामा कारोबार रकम ४३ प्रतिशत कम हो ।

आज कारोबार रकमका आधारमा एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड ५६ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ । यस्तै सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख २२ हजार रुपैयाँ, शिवम् सिमेन्टसको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

बुधबार सुपर माई हाइड्रोपावर र कालिञ्चोक दर्शन लिमिटेडको मूल्य १० प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । मूल्य बढेसँगै सुपर माई हाइड्रोपावरको ५२०.४० रुपैयाँ र कालिञ्चोक दर्शनको १८२.७० रुपैयाँ पुगेको छ । यस्तै धौलागिरी लघुवित्तको ५.१७, स्वाबलम्बन लघुवित्तको ३.९५ र सिटिजन्स म्युचुअल फन्ड २ को इकाईमूल्य ३.८८ प्रतिशतले मूलय बढेको छ ।

उता आजको बजारमा खप्तड लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै ४.४१ प्रतिशत घटेर ९३१ रुपैयाँमा झरेको छ । यस्तै एनएलजी इन्स्योरेन्सको ३.३४, श्रृजनशील लघुवित्त ३.३०, सुर्याज्योति लाइफ ३.१३ र आरम्भ चौतारी लघुवित्तको मूल्य ३.०१ प्रतिशतले घटेको छ । 

आजको बजारमा होटल तथा पर्यटनमुलक इन्डेक्स सर्वाधिक १.३४ प्रतिशतले बढ्दा अन्य ०.६३, लघुवित्त ०.२७, निर्जीवन बीमा उपसमूह ०.२१ र लगानी ०.२१ प्रतिशतले बढेको छ । आठ उपसमुहगत घटेको बुधबारको बजारमा व्यापार सर्वाधिक ०.८९ प्रतिशतले घटेको छ । यस्तै जीवन बीमा ०.५३, विकास बैंक ०.३६, फाइनान्स ०.३५, म्युचुअल फन्ड ०.१९, उत्पादन ०.०९, जलविद्युत् ०.०४ प्रतिशत र बैंकिङ ०.०१ प्रतिशतले घटेको छ ।

बुधबारको कारोबारपछि कुल बजार पुँजीकरण २७ खर्ब ८० अर्ब ४१ करोड १० लाख रुपैयाँमा समेटिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।