लगानीकर्ताहरुको लागत घटाउने र सेवाको गुणस्तर बढाउने जिम्मा धितोपत्र बोर्डले लिन्छः अध्यक्ष हमाल

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारमा लाग्दै आएको लगानीकर्ताहरुको लागत घटाउने र सेवाको गुणस्तर बढाउने जिम्मा धितोपत्र बोर्डले लिने बताएका छन् ।

नेपाल इन्भेस्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघको संयुक्त आयोजनामा आज भएको लगानीकर्ता अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष हमालले बजारको स्थायित्वका लागि आफुले धेरै काम गरिरहेको बताए । पुँजीबजार विकास र विस्तारका लागि धितोपत्र बोर्ड प्रतिबद्ध रहेको उनको भनाई छ ।

समायानुकूल ब्रोकर कमिसन घटाउँदै जाने बताउँदै अध्यक्ष हमालले भने, “ ब्रोकर संख्या थपिएसँगै पुँजीबजार प्रतिस्पर्धा बढ्छ । लगानीकर्ताले पहिलेभन्दा राम्रो र गुणस्तर सेवा पाउँछन् ।’ उनले आफूले सशक्त ब्रोकर कम्पनी चाहेको भन्दै डिलर, फूल सर्भिस र डिस्काउन्ट ब्रोकर गरी तीन प्रकारको ब्रोकर इजाजतपत्र वितरण गर्न लागिएको बताए ।

ब्रोकर लाइसेन्स बाँड्नमा हतार भयो भन्ने प्रसंग उठ्ने गरेको भन्दै उनल मापदण्डका आधार तोकेर लाइन्सेन्स वितरण गर्न लागिएको बताए , उनले भने, “छानेर चार पाँच जनालाई दिने भएको भए पो लाइसेन्स हुन्थ्यो, मापदण्ड पुग्ने सबैलाई पाउने लाइन्सेन्स नै होइन । हामीले मापदण्ड पुग्ने सबैलाई दिन खोजेका छौं, समयमा नै दिन्छौं पनि ।”

मुलुकभित्र अर्थतन्त्रमा परेको दबाबले पनि पुँजीबजार सुस्ताएको बताएका हमालले बजार सुधारका थुप्रै काम भैरहेकाले भोलि पुँजी बजारका लागि सुनौलो दिन आउने बताए । अध्यक्ष हमालले अबको दुई महिनाभित्र बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउने प्रक्रिया पूरा गरिने पनि जानकारी दिए ।

बजारका विकासका लागि प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको काम आफूहरुले थुप्रै काम गरिसकेको बताए । पछिल्लो १५ दिनमा आईएफसी, वल्ड बैंकसँग जस्ता संस्थाहरुलाई आफूले छलफल गरेको बताए । उनले प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटलको नियमनमा चुस्त दुरुस्त बनाएर उनीहरुलाई लगानीका लागि आकर्षिकत गरिसकेको र लगानीका लागि प्रतिबद्धता समेत भएको जानकारी दिए । ठूला ठूला बैंक तथा वित्तीय संस्थाहरु, डेभलपमेन्ट फाइनान्सियल्स इन्च्टिच्यूसनहरु जस्तैः आईएफसी, वल्ड बैंक, ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट र हल्याण्डको एफएमओ जस्ता संस्थाहरुसँग आफ्नो सहकार्य भैरहेको उनले बताए ।

अध्यक्ष हमालले अहिले सम्यमता अपनाउन लगानी कर्ताहरुलाई आग्रह गर्दै आर्थिक वर्ष सुधार हुँदै गएकोले पुँजीबजारको रौनक छिट्टै फर्किनेमा विश्वास गरे । भोलिका दिनमा पुँजीगत खर्च वृद्धि हुँदै जाने भएकाले बजारको विकास र राजस्व पनि वृद्धि हुँदै जाने बताए ।  उनले एक सय वटा ब्रोकरको संख्या होस् भन्न चाहेको बताउँदै सबै ब्रोकर कम्पनीहरु उत्तिकै प्रतिस्पर्धी होस् भन्ने हेतुले सबैको समान पुँजी, प्रविधि, सीईओ, बोर्ड आदीको आधार तोकिएको स्पष्ट पारे । बजारको आकार ठूलो हुँदै गएकोले ब्रोकरलाइ पनि १५ दिनभित्रै शाखा विस्तार गर्न अनुमति दिन थालेको बताए ।

बजारको दायरा र सन्तुलनामा सबै नीति ठोक्किएकाले त्यसमा सुधार गर्न खोजिउको उनले बताए । नयाँ एक्सचेञ्ज, नयाँ ब्रोकर, कमोडिटी एक्सचेञ्ज, एसएमई प्लार्टफर्म, १५ दिनमा सेयर कारोबार रोक्का राख्ने, तीन दिनभित्र मर्जर एक्वीजिसनको फाइल सेबोनमा स्वीकृत हुनुपर्ने, बुक बिल्डिङ्ग आदी सबै कुराहरु बजारको विका लागि गरिएको प्रयत्नहरु रहेको उनले बताए । कतिपय कुराहरु गर्न चाहेर मात्र नहुने भन्दै चाहदा चाहँदै पनि कतिपय विषयहरुमा काम गर्न नसकिएको उनको भनाई छ ।

बजारमा हुने गरेको इन्डसाइडर ट्रेडिङ जस्ता अबान्छित गतिविधिहरुको बारेमा लगानीकर्ताहरु जानकार हुने भएकाले त्यस्ता गतिविधिहरुमा उजुरी गर्न उनले आग्रह गरे । ‘इन्डसाइडर ट्रेडिङलाई नियन्त्रण गर्न सेबोनले आफ्नो ध्यान केन्द्रित गरिरहेको छ । यस्ता गतिविधि रोक्न हामीलाई तपाईहरुको साथ पनि चाहिन्छ’, उनले भने ।

विश्व अर्थतन्त्रमा देखिएको मन्दिको प्रभाव नेपालको तरलतामा परेको र पुँजी बजारमा पनि नकारात्मक असर देखिएको भन्दै एनआरएनहरुलाई पुँजीबजारमा भित्र्याउन सकेको खण्डमा बैंकिङ्ग प्रणाली र पुँजी बजार दुबैमा सुधार हुने भएकाले विदशेी पार्सपोर्ट बोकेका नेपाली नागरिक र नेपाली पार्सपोर्ट बोकेर विदेशमा रहेका नेपाली दुबैको लगानी पुँजी बजारमा भित्र्याउनुपर्नेमा जोड दिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।