आर्थिक वृद्धिदर एक प्रतिशत विन्दुले घटेर ४.१० मा झर्ने वर्ल्ड बैंकको अनुमान

0
Shares

वर्ल्ड बैंकले सन् २०२३ मा नेपालको आर्थिक वृद्धि ४.१० प्रतिशत हुने प्रक्षेपण गरेको छ । यो प्रक्षेपण सन् २०२२ अक्टोबरमा गरेको भन्दा एक प्रतिशतले कम हो ।

नेपाल डेभलपमेन्ट रिर्पोट (अप्रिल २०२३) सर्वाजनिक गर्दे विश्व बैंकले यो वर्षको आर्थिक वृद्धि ४.१० प्रतिशतमा सीमित रहने अनुमान गरेको छ । वर्ल्ड बैंकको अर्धवार्षिक ‘कन्ट्री अपटेड’ का अनुसार निर्यात प्रतिबन्ध, मौद्रिक नीतिमा गरिएको कडाइ, उच्च मुद्रास्फीति र कम राजस्व संकलन प्रतिबिम्बित गर्ने खुम्चँदो सरकारी खर्चका कारण यस वर्षको आर्थिक वृद्धिदर यसअघि प्रक्षेपण गरिए भन्दा कम हुने बताएको हो ।

आर्थिक वर्ष सन् २०२४ मा भने पर्यटन क्षेत्रले गति लिने, विप्रेषण आप्रवाहमा वृद्धि र मौद्रिक नीतिमा क्रमशः गरिने सहजताका कारण वृद्धिदर बढेर ४.९० प्रतिशत पुग्ने अनुमान विश्व बैंकको छ । यद्यपि जोखिमहरु पनि उत्तिकै रहेको देखिन्छ । अपेक्षाभन्दा उच्च मुद्रास्फीति, जसले उपभोग र वृद्धिलाई कम गराउने छ, सरकारी अधिकारीहरुको सम्भावित सरुवाको प्रभाव र मानव पुँजीमा लगानी घटाइएका कारण विशेष गरी महामारीपछिको बेरोजगारीबाट फर्किन बाँकी व्यक्तिहरु बीच बढ्ने असमानता लगायतका जोखिम भने बाँकी नै रहेको विश्व बैंकले जनाएको छ ।

“बाह्य क्षेत्रमा परेको दबाबलाई सम्बोधन गर्न अपनाइएका उपायहरुबीच नेपाली अर्थतन्त्रले आर्थिक वृद्धिमा सुस्तता र सरकारी राजस्वमा कमी जस्ता अनिच्छित परिणामहरुको सामना गर्नुपरेको छ, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीयनिर्देशक फारिस हदाद–जर्भोसले भने, “यसले सरकारको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) का एजेन्डाको महत्वलाई थप उजागर गर्दछ । सरकारले गर्न चाहेको नीतिगत परिवर्तनबारे सर्वसाधारणलाई अग्रिम जानकारी र समयमै कार्यान्वयनमा गईयो तथा कार्यान्वयनका क्रममा नीतिहरुमा परिमार्जन गर्दै गईयो भने ती सुधारहरुले उत्कृष्ट नतिजाहरु ल्याउनेछन् ।”

प्रतिवेदन साउथ एसियन इकोनोमिक फोकस, ‘एक्सपान्डिङ अपरच्यूनिटिज ः टुवार्ड इन्क्लुसिभग्रोथ’ , को एक सहयोगी अंश हो, जसले सन् २०२३ मा दक्षिण एसियाको क्षेत्रीय वृद्धिदर औसत ५.६ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यो अक्टोबर २०२२ को प्रक्षेपण भन्दा थोरै घटाएर गरिएको संशोधन हो । क्षेत्रीय वृद्धिदर महामारीबाट प्रारम्भिक पुनरुत्थान भएको वर्ष सन् २०२१ को ८.२० प्रतिशतलाई पछ्याउँदै सन् २०२४ मामध्यम खालको ५.९ प्रतिशत कायम रहने अपेक्षा विश्व बैंकको रहेको छ ।

यो वर्ष दक्षिण एसियामा मुद्रास्फीति ८.९० प्रतिशतमा झर्ने र सन् २०२४ मा ७ प्रतिशत भन्दा तल जाने अनुमान छ । यद्यपि कमजोर मुद्राहरु र घरेलु मूल्य समायोजनमा गरिने ढिलाइले मुद्रास्फीतिमा अपेक्षित गिरावटको गतिलाई अझ ढिलो बनाउन योगदान गरिरहेको रिर्पोटमा उल्लेख छ । खाद्यान्नको मूल्यमा भएको विश्वव्यापी र आन्तरिक वृद्धिले खाने कुराकै लागि आम्दानीको ठूलो अंश खर्च गर्नुपर्ने दक्षिण एसियाका गरिबहरु बीच खाद्य असुरक्षा बढाउन योगदान गरिरहेको प्रतिवेदनको निष्कर्ष छ ।

पुनरुत्थानबाट दिगो वृद्धिमा जान दक्षिण एसियाले आर्थिक विकास समावेशी भएको सुनिश्चित गर्नु आवश्यक छ । यो क्षेत्र अवसरको असमानता विश्वमै सबैभन्दा बढी भएका मध्येमा पर्छ । दक्षिण एसियामा विद्यमान कुल असमानताको ४० देखि ६० प्रतिशत जन्मेको ठाउँ, पारिवारिक पृष्ठभूमि, जात तथा जातीयता र लिंगजस्ता व्यक्तिको नियन्त्रण बाहिरका परिस्थितिबाट सृजित छन् । अन्तर पुस्ता गतिशीलता पनि विश्वकै सबैभन्दा कम भएको क्षेत्र मध्येमा पर्छ । प्रतिवेदनमा प्रकाश पारिएका तथ्यांकले अभिभावकको शैक्षिक स्तर न्यून भएका व्यक्तिमध्ये ९ प्रतिशत भन्दा कम मात्रै माथिल्लो २५ प्रतिशतको शैक्षिक स्तरमा पुगेको देखाउँछन् । यस्ता असमानताहरुले रोजगारी, आम्दानी, उपभोग र कल्याणका पहुँचमा भिन्नताको अवस्थामा पु¥याउँछन् र पुनर्वितरण नीतिको आवश्यकता औंल्याउँछन् ।

 

“दक्षिण एसियाको चर्को सामाजिक–आर्थिक विभाजन अनुचित र अप्रभावी दुबै छ । तिनीहरुले प्रतिभाशाली व्यक्तिहरुलाई समाजमा योगदान गर्नबाट रोक्छन्, मानव पुँजीमा लगानी गर्ने प्रोत्साहनहरु घटाउँछन् र दीर्घकालीन आर्थिक वृद्धिलाई अवरुद्ध गर्छन्,” दक्षिण एसियाका लागि विश्व बैंकका प्रमुख अर्थशास्त्री हान्स टिमरले भने, “यी संरचनागत मुद्दाहरुको सम्बोधन गर्नु यस क्षेत्रले आफ्नो पूरै सम्भावना हासिल गर्न सक्ने सुनिश्चितताका लागि महत्वपूर्ण छ ।”

प्रतिवेदनले प्राथमिक शिक्षाको गुणस्तर सुधारमा निरन्तरता र माध्यमिक तथा उच्चशिक्षामा पहुँच विस्तार गर्न, ‘कम अवसर पाउने समूह लक्षित सकारात्मक कार्यनीतिको मूल्यांकन र सुदृढीकरण, कम सम्पन्न वर्गका लागि रोजगारीका अवसरको ठूलो हिस्सा सिर्जना गर्ने साना र मझौला उद्यमका लागि व्यावसायिक वातावरण र नीतिगत सुधारमा जोड दिएको छ । यसका अतिरिक्त, श्रम गतिशीलताका व्यवधानहरु घटाउँदा त्यसले सशक्त समानीकरणको प्रभाव पार्न सक्छ किनभने सहरी क्षेत्रहरूले सामान्यतया सामाजिक गतिशीलताका थप अवसरहरु प्रदान गर्ने प्रवृत्ति छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  १९ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।