निर्जिवन लघुबीमा गर्दा अभिकर्ताले साढे २ लाखसम्म कमिसन पाउने

0
Shares

निर्जिवन लघुबीमा गराउने अभिकर्ताले अधिकतम साढे २ लाख रुपैयाँसम्म कमिसन पाउने भएका छन । बीमा प्राधिकरणले लघुबीमा निर्देशन जारी गर्दै लघु निर्जिवनका बीमाका अभिकर्ताको कमिसन शुल्क तोकेको हो ।

निर्देशिका अनुसार निर्जिवन लघुबीमा ५० लाख रुपैयाँसम्मको हुनेछ । त्यसका अभिकर्ताले बीमा प्रिमियमको ५ प्रतिशत कसिमन लिन पाउने व्यवस्था गरेको छ । तर, लघु जीवन बीमाको हकमा भने बीमा नियमावलीले तोके अनुसार पहिलो देखि तेस्रो वर्षसम्मको प्रिमियमा २५, चौथोमा २० र त्यसपछिका वर्षमा ५ प्रतिशत लिन पाउने व्यवस्था नै कायम राखेको छ । निर्देशिका अनुसार लघु निर्जीवन ५० लाख र लघु जीवन बीमा ५ लाख सम्मको मात्र गर्न सकिने व्यवस्था गरेको छ ।

बीमकले सामूहिक लघुबीमालेख जारी गर्न सक्ने व्यवस्था पनि निर्देशिकाले गरेको छ । सामूहिक लघुबीमामा आबद्ध प्रत्येक बीमितको नाम सूची संलग्न गरी बीमालेख धारकको नाममा जारी गर्नु पर्नेछ । बीमकले बीमासँग सम्बन्धित सम्पूर्ण सूचना तथा जानकारी बीमक आफैँ वा बीमा अभिकर्ता मार्फत बीमालेख धारकसँग आदान प्रदान गर्नु पर्नेछ ।

बीमालेख धारकले बीमितको संख्या परिवर्तन भएमा वा हेरफेर भएमा सोको जानकारी बीमकलाई गराई बीमाशुल्क अद्यावधिक गराउनु पर्नेछ । बीमालेख धारकले बीमितको इच्छाइएको व्यक्ति वा हकवालाको विवरण सुरक्षित रूपमा बीमकले मागेको बेलामा दिन सक्ने गरी राख्नु पर्नेछ ।

लघु निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घर, सम्पत्ति तथा व्यवसाय लघुबीमा पचास (५०) लाख र मोटर लघुबीमा, इन्जिनियरिङ्ग लघुबीमा, ट्रेलर, ट्याक्टर, थ्रेसर, मोटर अन्तर्गत पर्ने कृषि, ट्राइसाइकल, मोपेड, उपकरण, मोटरसाइकल, ट्याम्पु, रिक्सा, ठेलागाडा मात्र पचास (५०) लाख रुपैयाँ सम्मको बीमा गर्न सक्नेछ । त्यसैगरी दायित्व तथा मौद्रिक क्षति लघुबीमा पाँच (५) लाख र अन्य लघुबीमा रू पाँच (५) लाख तोकेको छ ।

तर, नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारद्वारा अनुदान तथा व्याज अनुदान प्राप्त कर्जाको बीमाङ्क कर्जाको सीमा सम्मको दायित्व रहने छ । जीवन बीमा कम्पनीले पाँच लाख रूपैंया भन्दा कम बीमाङ्क भएको जीवनको लघुबीमा गर्न सक्नेछ ।

नेपाल सरकार अर्थ मन्त्रालयद्वारा जारी भएको सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधि, २०७५ अनुसार विक्री गरिएका सवै बीमालेखहरू लघुबीमालेख हुनेछ । राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” बर्गका लघुवित्त वित्तीय सँस्थाहरूलाई जारी गरिएको निर्देशन बमोजिम कर्जा लिई सोही प्रयोजनको लागि लघुबीमा गर्दा प्रति ऋणी अधिकतम सीमा ननाघ्ने गरी लघुबीमाको बीमाङ्क कायम गर्नु पर्नेछ ।

सहकार्यमा लघुबीमा जारी गर्न सक्नेः बीमकले टेलिकम, इन्टरनेट सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, स्टोर, होटल, रेष्टुरेन्ट लगायत आपूर्ति श्रृंखलामा आवद्ध संगठित सँस्थाहरूसँग सहकार्य गरी लघुबीमा जारी गर्न सक्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । प्राधिकरणले यो निर्देशिका चैत १२ गते स्वीकृत गरेको हो ।

बीमकले आफु समक्ष परेको लघुबीमा दाबीको तत्काल छानबीन गरी दाबी भुक्तानी प्रक्रिया अगाडि बढाउनु पर्नेछ । बीमकले लघुबीमा दाबी सम्बन्धी आवश्यक कागजात प्राप्त भएको बढीमा एक्काइस दिन भित्र दायित्व यकिन गरी भुक्तानी गर्नु पर्ने व्यवस्था समेत निर्देशिकामा उल्लेख छ । दाबी भुक्तानी गर्दा सामूहिक जमानीलाई आधार मानी दावी भुक्तानी गर्न सक्नेछ ।सामूहिक जमानीमा संलग्न व्यक्ति कम्तीमा पाँच जना हुनुपर्ने र प्रत्येक व्यक्तिको हस्ताक्षर, नाम, थर, ठेगाना, नागरिकता र सम्पर्क नम्बर समेत स्पष्ट खुलेको हुनुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।