पाँच फाइनान्सले अझै डाकेनन् साधारण सभा

0
Shares

गत आर्थिक वर्ष समाप्त भएको ९ महिना अवधि बित्न लाग्दा समेत सूचीकृत पन्ध्रमध्ये पाँच फाइनान्सले अझै साधारण सभा आह्वान गरेका छैनन् । यसरी एजीएम आह्वान नगर्ने कम्पनीहरुमा गुडविल फाइनान्स, गोर्खाज फाइनान्स, बेष्ट फाइनान्स, जानकी फाइनान्स र रिलायन्स फाइनान्स रहेका छन् ।

विद्यमान कानुनी व्यवस्था बमोजिम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र अघिल्लो आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने हुन्छ । तर तोकिएको समयभन्दा तीन महिना समय बितिसक्न लाग्दा ५ फाइनान्सले भने हालसम्म पनि साधारण सभा आह्वान नगरेका हुन् । कम्पनी ऐन २०६३ को दफा ७६ अनुसार कारोबार सञ्चालन भएको एक वर्ष भित्र पब्लिक कम्पनीहरुले पहिलो साधारण गर्ने र त्यसपछि प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्था छ ।

उक्त व्यवस्थाप्रति धितोपत्र बजारमा सूचीकृत भएपनि संस्थागत सुशाशनको पक्षमा भने धेरै कम्पनीहरु प्रतिबद्ध भएको पाइँदैन । सूचीकृत कम्पनीहरु संस्थागत सुशासनप्रति कम जिम्मेवार बन्दै जान थालेका छन् । प्रत्येक वर्ष कम्पनीको आर्थिक वर्ष पूरा भएको ६ महीनाभित्र वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी व्यवस्थालाई धेरै जसो कम्पनीहरुले पालना नगरेका हुन् । नियामक निकायहरुले तोकिएको समयमा साधारण सभा नगर्ने कम्पनीहरुलाई प्रत्यक्ष रुपमा कार्वाही गर्ने व्यवस्था नहुँदा सूचीकृत कम्पनीहरुमा संस्थागत सुसासन कमजोर बन्दै गईरहेको छ । साथै समयमा साधारण सभा नगर्दा पनि केही फरक पर्दैन भन्ने मानसिकता समेत ती कम्पनीका व्यवस्थापकहरुमा समेत पर्न थालेको छ ।

साधारण सभा कुनै पनि कम्पनीको सेयरधनीहरुको वार्षिक संयुक्त बैठक हो । वर्षमा एक एकपटक कम्पनीको विविध पक्षका बारेमा छलफल हुने र महत्वपूर्ण निर्णय समेत साधारण सभाबाटै हुने भएकाले साधारण सभा कम्पनीका लागि सर्वोच्च निर्णय गर्ने स्थान हो । यहाँ भएका निर्णय कम्पनीको हकमा निकै महत्वपूर्ण हुन्छ । वार्षिक साधारण सभाले विशेष निर्णयहरु, विशेष प्रस्तावका साथै लाभांश वितरण, कम्पनीको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन र सञ्चालकको प्रतिवेदन जस्ता विषयमा छलफल गरि पारित गर्ने र आवश्यक काम गर्न सञ्चालक समतिलाई अधिकार प्रत्यायोजन समेत गर्दछ । सामान्य निर्णय पारित हुन पनि न्यूनतम ५१ प्रतिशत सेयरधनीहरुको आवश्यक हुन्छ । विशेष निर्णय पारित हुन दुई तिहाईको सहमति चाहिन्छ ।

त्यसैगरी कम्पनीको अधिकृत पूँजी बढाउन, सेयर पूँजी हेरफेर, नाम र मुख्य उद्देश्य परिवर्तन गर्न, कम्पनी गाभिने विषय, प्रालिबाट पब्लिक वा पब्लिकबाट प्रालिमा परिणत हुने जस्ता विषयहरुपनि साधारण सभाबाटै निक्र्यौल हुन्छ । कम्पनीको महत्वपूर्ण निर्णयहरु गराउने सभालाई समयमा नै नगराउँदा संस्थागत सुसाशनको अवस्था माथि प्रश्न उठ्ने गर्दछ । लगानीकर्ताको नजरमा पनि समयमा नै साधारण सभा सम्पन्न गर्ने कम्पनीप्रति विश्वास बढी हुन्छ ।

कम्पनीहरुले वर्ष भरिको विवरण कम्पनी रजिष्ट्रारको कार्यालयमा तोकिएको समयमा नबुझाउनकम्पनीलाई आर्थिक जरिवाना गर्ने गरेको छ भने नेप्सेले पनि सूचीकृत कम्पनीलाई वर्गिकरण गर्दा समयमा नै साधारण सभा गर्ने कम्पनीहरुलाई न्यून वर्गमा राख्ने गरेको छ ।

हालसम्म साधारण सभा सम्पन्न गरेका दशमध्ये पाँच कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गरेका छन् भने पाँच कम्पनीले सेयरधनीको हात खाली बनाएका छन् । आईसीएफसी, श्री इन्भेष्टमेन्ट, गुहेश्वरी, सेन्ट्रल र पोखरा फाइनान्सले लाभांश वितरण गरेका हुन् । मञ्जुश्री, समृद्धि, नेपाल, मल्टिपपर्स र प्रोगेशिभ फाइनान्सले लाभांश वितरण गरेनन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।