अर्थतन्त्र सुधार्ने सरकारको प्रतिबद्धतापछि सेयर बजारमा २७ अंकको सुधार

0
Shares

 सेयर बजारमा मंगलबार हरियाली छाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाश शरण महत तथा उद्योगमन्त्री रमेश रिजालले अर्थतन्त्रको विद्यमान समस्याप्रति गम्भिर रहेको र मुलुकको अर्थतन्त्र सुधारका लागि आवश्यक काम अगाडि बढाउने प्रतिबद्धता जनाएपछि बजारमा उत्साह छाएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७ औं वार्षिक साधारण सभामा बोल्दै उनीहरुले ऋणको ब्याजदर कम गर्ने, कर्जा तिर्न नसक्ने ऋणीहरुको कर्जा पुनरतालिकीकरण गर्न र निजी क्षेत्रसँग हातेमालो गर्दै समस्या सामाधानमा अगाडि बढ्ने प्रतिबद्धता जनाएपछि बजारमा सुधार आएको हो ।अर्कोतर्फ चालु आवको आठ महिना अवधिमा देशको रेमिट्यान्स आप्रवाहमा २५.३० प्रतिशतले सुधार भई ७ खर्ब ९४ अर्ब बढी पुगेकाले पनि बजारमा सकारात्मक माहोल बनेको हो । फागुनमा मात्रै १ खर्ब ४ अर्ब बढी रेमिट्यान्स भित्रिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको देशको समग्र वित्तीय अवस्थाको प्रतिवेदनमा धेरै सूचकमा सुधार देखिएसँगै त्यसको सकारात्मक असर पुँजी बजारमा पनि देखिएको हो ।

मंगलबार सेयर बजारमा २७.३१ अंकको हरियाली देखिएको छ । लामो समयदेखि घट्दै आएको बजारमा मंगलबार आकर्षक अंकको सुधार आएको हो । मंगलबारको कारोबार बन्द सूचक १८७१ दशमलव ३३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४८ प्रतिशतले धेरै हो ।मंगलबार २६२ कम्पनीका ३३ लाख १५ हजार ७४० कित्ता सेयर ३५ हजार २३७ वटा संख्यामा किनबेच हुँदा कारोबार रकम ९२ करोड ५२ लाख ४९ हजार १७९ रुपैयाँमा समेटिएको छ । ठूला कम्पनीहरुको सेयर कारोबारको सूचक मापक सेन्सेटिभ इन्डक्स पनि मंगलबार ५.७९ अंकले बढेर ३५५ दशमलव ४५ अंकमा पुगेको छ ।

नेप्सेमा रहेका १३ वटै उपसूचकमा आज हरियाली छाएको छ । उत्पादन तथा प्रशोधन उपसूचक सर्वाधिक २.२८ प्रतिशतले वृद्धि हुँदा फाइनान्स २.४३ प्रतिशत र विकास बैंक २.३५ प्रतिशतले बढेको छ ।  नेप्सेमा आज दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कालिञ्चोक दर्शन लिमिटेडको दश तथा आर्दश लघुवित्तको सेयरमूल्य ९.६९ प्रतिशत बढेर क्रमशः ४१४ रुपैयाँ ८० पैसा तथा १ हजार ७५ रुपैयाँ पुगेको हो ।

त्यस्तै, श्रीजनशील लघुवित्तको सेयरमूल्य ७.६८ प्रतिशत, युनिक नेपाल लघुवित्तको ७.४३, छ्याङ्दी हाइड्रोपावरको ७.४३, युनिलिभर नेपालको ६.६८, सानिमा ग्रोथ फन्डको इकाईको ६.३१, पिपुल्स पावरको ५.४७, समृद्धि फाइनान्सको ५.४० र अरुण भ्याली हाइड्रोपावरको सेयरमूल्य ५.२२ प्रतिशतले बढेको छ ।

बजारमा हरियाली छाएपनि आजको बजारबाट सानिमा मिडिल तमोर हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक ३.५४ प्रतिशतले गुमाएका छन् । यस्तै प्राइम बैंकको डिबेन्चर २०८८ को २.३७, एनसीसी डिबेन्चर २०८६ को २ प्रतिशत, एनआइबिएल प्रगति फण्डको इकाईमूल्य १.९९ प्रतिशत र सानिमा इक्वीटी फन्डको इकाईमूल्य १.९६ प्रतिशत घटेको छ ।

९४ करोड ५२ लाख रुपैयाँको कारोबार भएको मंगलबारको बजारमा शिवम् सिमेन्ट्सको सर्वाधिक ७ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा मिडिल तमोर हाइड्रोपावरको ५ करोड ३ लाख, प्रभु बैंकको ३ करोड १३ लाख, हिमालयन डिष्टिलरी लिमिटेडको ३ करोड ८ लाख रुपैयाँ र नबिल बैंकको २ करोड २९ लाख रुपैयाँ बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

म्ंगलबारको कारोबार समाप्तीसँगै आज कुल बजार पुँजीकरण २७ खर्ब २१ अर्ब ७२ करोड ३३ लाख रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन सोमबारको तुलनामा ५० अर्ब ५३ करोड रुपैयाँले बढी हो । सोमबार कुल बजार पुँजीकरण २६ खर्ब ७१ अर्ब १९ करोड २७ लाख थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।