राष्ट्रिय वाणिज्य बैंकद्धारा ७४ कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नवनियुक्त सहायक ७४ जना कर्मचारीहरुलाई १४ दिने पूर्व सेवाकालिन तालिमसञ्चालन गरेको छ ।

बैंकले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशकालागि छनौट भएका प्रशासन सेवाका कर्मचारीलाई तालिम सञ्चालन गरेको हो ।

तालिमको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले कर्मचारीले १०-५ को जागिर मात्र नगरेर व्यवसायिक ढङ्गबाट काम गरेमा ग्राहकहरु सन्तुष्ट भई संस्थाको उत्पादकत्व बृद्धि हुने बताए । कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराउदैं ग्राहकहरुको बैंकप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताइन् ।

कार्यक्रममा उपकार्यकारी अधिकृत विमल डंगोलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक प्रशासन सेवाका ७४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए ।

कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विनयरमण पौडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी, मानव संशाधन विभागका उपप्रमुख हरिवावु आचार्यलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २६६ वटा शाखा कार्यालय, ५२ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग,  ईन्टरनेट बैंकिङ, परिष्कृत रुपको मोवाईल बैंकिङ्ग तथा बिना ईन्टरनेट चल्ने ग्क्क्म् मोवाईल बैंकिङ्गका सेवाहरु समेत संचालनमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।