एक महिनामा साढे २ अर्बले बढ्यो सेयर धितो कर्जा, बैंकहरुको बढ्दा फाइनान्सको घट्यो

0
Shares

नेपाल राष्ट्र बैंकले ठूला आकारका कर्जामा कडाई गरेको भएपनि बैंक वित्तीय संस्थाले प्रदान गर्ने सेयर धितो कर्जा (मार्जिन नेचर लोन) २ अर्ब ४४ करोड रुपैयाँले बढेको छ । केन्द्रीय बैंकले २५ लाख भन्दा ठूला कर्जामा मात्र कर्जा जोखिम भारित १५० कायम गरेपछि सेयर धितो कर्जा बढेको हो ।

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जालाई एक संस्थाबाट ४ करोड र बैंकिङ क्षेत्रका १२ करोडको सीमा तोकेको थियो । त्यसका साथै सेयर धितो कर्जामा कर्जा जोखिम ब्याजस्था १५० प्रतिशत ककायम गरेको थियो। केन्द्रीय बैंकले यी व्यवस्थाहरुमा केही खुकुलो नीति अबलम्बन गरेसंगै सेयर धितो कर्जा बढेको हो । केन्द्रीय बैंकले ४ करोडको सीमा हटाएको छ भने २५ लाख रुपैयाँ सम्मको कर्जाको जोखिम भारीत एक सय प्रतिशत मात्र कायम गरेको छ ।

चालु आर्थिक वर्षको फागुन महिनासम्म बैंक तथा वित्तीय संस्थाबाट कुल ७५ अर्ब १८ करोड ७० लाख रुपैयाँ मार्जिन कर्जा प्रबाह भएको छ । यो कर्जा रकम माघ महिनाको तुलनामा २ अर्ब ४४ करोड ३० लाख रुपौयाँले धेरै हो । चालु आर्थिक वर्षको माघ महिनासम्ममा बैंक वित्तीय संस्थाले ७२ अर्ब ७४ करोड ४० लाख रुपैयाँ यस्तो कर्जा प्रबाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

कोरोना महामारीको असर कम भएसंगै अर्थतन्त्रले गति लिन थालेपछि बैंक वित्तीय संस्थामा तरलता तथा कर्जा लगानी योग्य रकमको अभाव बढ्न थाल्यो । बैंकिङ प्रणालीमा देखिएको यो समस्याले ब्याजदर बढायो । ब्याजदर बढ्न थालेपछि सेयर बजार ३ हजार २ सयको विन्दुबाट निरन्तर घट्न थाल्यो । सेयर बजार घट्दो क्रममा भएपनि सेयर धितो कर्जा प्रबाह भने बढेको हो ।

पछिल्लो समयमा उच्च ब्याजदरका कारण बैंकिङ प्रणालीमा कर्जा माग भएन । कर्जाको माग नभएपनि घट्दो सेयर बजारमा लगानीकर्ताले उच्च ब्याजदरमै भएपनि लगानी समायोजनका लागि कर्जा लिन्छु भनेपछि बैंक वित्तीय संस्थाले केन्द्रीय बैंकको सीमामा रहेर यस्तो कर्जा बढाएको बैंकरहरु बताउँछन । केन्द्रीय बैंकले खुकुलो बनाएका सानाखालका कर्जा प्रबाह बढेको ती बैंकरको भनाई छ ।

चालु आवको फागुनसम्ममा बाणिज्य बैंकहरुबाट मात्रै ५८ अर्ब ४२ करोड ७० लाख रुपैयाँ मार्जिन नेचर कर्जा प्रदान भएको छ । यो कर्जा रकम माघ महिनाको तुलनामा २ अर्ब २३ करोड ३० लाख रुपैयाँले धेरै हो माघ महिनासम्ममा वाणिज्य बैंकहरुले ५६ अर्ब १९ करोड ४० लाख रुपौयँ मात्र मार्जिन नेचर कर्जा प्रबाह गरेका थिए ।

त्यसैगरी चालु आर्थिक वर्षको फागुनसम्ममा विकास बैंकहरुले १२ अर्ब ९१ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन् । यो रकम माघ महिनाको तुलनामा २२ करोड ४० लाख रुपैयाँले धेरै हो । माघसम्ममा विकास बैंकले १२ अर्ब ६९ करोड ५० लाख रुपैयाँ यस्तो कर्जा लगानी गरेका थिए ।

चालु आर्थिक वर्षको फागुनसम्ममा फाइनान्स कम्पनीले भने मार्जिन नेचर कर्जा घटाएका छन । फागुनसम्ममा फाइनान्स कम्पनीले ३८ करोड ४० लाख रुपैयाँ मार्जिन कर्जा प्रबाह गरेका छन । यो कर्जा रकम चालु आवकै माघ महिनाको तुलनामा १५ लाख रुपैयाँले थोरै हो । माघ महिनासम्ममा फाइनान्स कम्पनीले ३८ करोड ५५ लाख रुपैयाँ यस्तो कर्जा लगानी गरेका थिए ।

सेयर धितो कर्जा प्रबाह नेपाल राष्ट्र बैंकको नीति तथा धितोपत्र बजारको गति अनुसार घट्ने बढ्ने हुन्छ । धितोपत्र बजार बढेको समयमा सेयर धितो कर्जाको माग पनि बढी हुन्छ । नेपाल राष्ट्र बैंकले धितोपत्र बजारको जोखिम अवस्था अनुसार नीतिगत व्यवस्थाहरुमा कडाइ र खुकुलो गर्दा पनि यस्तो खालको कर्जा घट्ने र बढ्ने गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।