बैंकिङ संकट निम्तिएकै हो त ? बैंकहरुको अवस्था कस्तो छ ?

0
Shares

अमेरिका र युरोपमा एक पछि अर्को गर्दै बैंकहरु टाट पल्टिदा त्यसको प्रभाव विश्व बैंकिङ सेयर सूचांकमा पर्यो । बैंकहरु टाट पल्टिनुको कारण अमेरिकी केन्द्रीय बैंकले अपनाएको संकुचित मौद्रिक नीति र आक्रामक शैलीमा बढाएको ब्याजदरलाई लिइएको छ ।

तथापि केन्द्रीय बैंकले ब्याजदर बढाएको समयमा नै अमेरिकाको शीर्ष बैंक जेपीमोर्गनले विश्लेषकहरुको अनुमान भन्दा धेरै नाफा गर्न सफल भएको छ । सन् २०२३ को पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गर्दै बैंकले गत ३ महिनामा नाफा ५२ प्रतिशतले वृद्धि भई १२ अर्ब ६२ करोड डलर पुगेको जनाएको छ । जेपीमोर्गनले नाफा खुलासा गरेसँगै बैंकको सेयर मूल्य ७ प्रतिशतले बढेको छ ।

यस्तै अमेरिकी बैंक–वेल्स फार्गोको नाफा गत वर्षको तुलनामा ३० प्रतिशतले वृद्धि भई ५ अर्ब डलर पुगेको छ । जेपीमोर्गन, वेल्स फार्गोका साथै सीटिग्रुप लगायतका बैंकहरुको समेत आम्दानी बढेको छ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदर बढाएका कारण कम पुँजी भएका बैंकहरु टाट पल्टिने अवस्थामा पुगेका छन् भने धेरै पुँजी भएका बैंकहरुको नाफा दिनानु बढेको छ ।

विश्वव्यापी रुपमा बैंकिङ क्षेत्रमा देखिएको हलचलले बैंकिङ संकटलाई निर्देशित नगरेता पनि सजगता अपनाउनु पर्ने पुष्टि गर्छ । अमेरिकी बैंकहरुको नाफामा भएको वृद्धिका कारण मार्च महिनामा ओरालो लागेका एस एन्ड पी ५०० सूचांक र एमएससीआई विश्व सूचांक अप्रिल महिनामा १० प्रतिशतले उकालो लागेका छन् ।

साथै पछिल्लो समयमा चीनमा औद्योगिक गतिविधिहरुले तीव्र भएसैगै सन् २०२३ को पहिलो त्रैमासमा कुलग्राहस्थ उत्पादन बढेको छ । यस्तै भारतीय बजारमा थोक मूल्यवृद्धि दर नियन्त्रण हुँदै गएको छ । मार्च महिनामा भारतको थोक मुद्रास्फीति दर ३.८५ प्रतिशतबाट घटेर १.८७ प्रतिशत कायम भएको छ।

एशियाली अर्थतन्त्रमा देखिएको सुधारका कारण एशियाली सेयर बजारमा हरियाली छाएको छ । तथापि विश्वव्यापी रुपमा बैंकहरुको कर्जा विस्तार गर्ने क्षमतामा ह्रास आएको मोर्गन स्टान्लीले जनाएको छ । बैंकहरु साना तथा मझौलाउ द्योगहरुलाई कर्जा दिन असक्षम रहँदा त्यसको प्रभाव अर्थतन्त्रमा पर्ने देखिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।