युनियन लाइफको बोनस पाउन सेयरधनीले कर तिर्नुपर्ने

0
Shares

युनियन लाइफ इन्स्योरेन्सको बोनस पाउन सेयरधनी आफैँले कर तिर्नुपर्ने भएको छ ।  कम्पनीले एक सूचना जारी गर्दै सेयरधनीले बोनस वापतको कर जम्मा गरेपछि मात्र सम्बन्धित सेयरधनीको डिम्याट खातामा बोनस सेयर जम्मा हुने जनाएको छ ।

युनियनले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १५ रोड रुपैयाँको ८.९७ प्रतिशत बोनस सेयर वितरण गरेको हो । माघ २६ गते सम्पन्न भएको पाँचौं वार्षिक साधारण सभाबाट सो बोनस अनुमोदन भएको थियो । कम्पनीको साे बोनस सेयर २०७९ चैत ३० गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भैसकेको छ । 

साधारण सभा र लाभांश वितरणका लागि गरिएको बुकक्लोज अनुसार कम्पनीको बोनस सेयर विसं २०७९ माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउनेछन् । सो मितिभन्दापछि सेयर खरिद गरेकाले बानस पाउनेछैनन् ।

सेयरधनीले प्रभु बैंकको वालिङ्ग शाखामा रहेको युनियन लाइफ इन्स्योरेन्सको खाता नम्बर ०८९००८९९५४१००१२१ मा बोनस सेयरमा लाग्ने कर वापतको रकम जम्मा गर्नुपर्नेछ । सेयरधनीहरुले तिनुपर्ने करको विवरण युनियन लाइफ इन्स्योरेन्स कम्पनीको वेवसाइटमा साथै प्रभु क्यापिटलको वेवसाइटबाट समेत हेर्न सकिने जनाइएको छ ।

साथै २०७९ माघ १५ गतेसम्म धितो बन्धकी राखी कर्जा लिएका सेयरधनीहरुको हकमा सेयरधनीले सो बोनस सेयरमा लाग्ने कर बापतको रकम जम्मा गर्नुका साथै कर्जा प्रवाह गर्ने सम्बन्धित बैंक र वित्तीय संस्थामा सम्पर्क गरी नो अब्जेक्सन लेटर वा सो बोनस सेयरको फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बोनस सेयर हितग्राही खातामा जम्मा गरिने कम्पनीले जनाएको छ । थप जानकारीका लागि कम्पनीको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौँमा कार्यालय समयमा सम्पर्क गर्न सकिने उल्लेख छ ।

हाल युनियन लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र प्राइम लाइफ इन्स्योरेन्स गरी तीन कम्पनीहरू एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।