बाह्र वाणिज्य बैंकको प्रतिसेयर आम्दानी घट्यो, चार्टर्डले धेरै बढाउँदा एनआईसी एशिया शीर्ष स्थानमा

0
Shares

सञ्चालनमा रहेका २१ वाणिज्य बैंकहरुमध्ये १२ बैंकको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) घटेको छ भने समीक्षा अवधिमा ९ वाणिज्य बैंकको मात्र इपीएस वृद्धि भएको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आवको ९ महिना अर्थात चैतसम्ममा १४ वाणिज्य बैंकले खुद नाफा वृद्धि गरेपनि इपीएस भने ९ वटा बैंकको मात्र बढेको छ । ७ वटा बैंकको खुद नाफा घटेकोमा इपीएस घट्ने बैंकको संख्या १२ पुगेको छ । गत आवको तुलनामा नाफा वृद्धि भएपनि पुँजी वृद्धिको अनुपातमा नाफा बढाउन नसकेका बैंकहरुको इपीएस घटेको हो ।

चैत मसान्तसम्म एनआईसी एशिया बैंकको इपीएस सबैभन्दा धेरै रहेको छ भने स्ट्याण्डर्ड चार्टड बैंकले गत चैतको तुलनामा सबैभन्दा धेरै रुपैयाँले इपीएस वृसद्ध गरेको छ ।  बैंकहरुले गर्ने खुद नाफा रकमलाई सम्बन्धीत बैंकको कुल चुक्ता भएको सेयर संख्याले भाग गरेर वार्षिक प्रतिसेयर आम्दानीको गणना गरिन्छ ।

स्ट्याण्डर्ड चार्टर्डले सर्वाधिक इपीएस बढाउँदा बाह्र बैंकको घट्यो

गत आवको चैत मसान्तको तुलनामा स्ट्याण्डर्ड चार्टर्डले नाफा वृद्धि गरेर सबैभन्दा धेरै १३ रुपैयाँ ८८ पैसा इपीएस वृद्धि गरेको छ । दोस्रो स्थानमा रहेको एरभेष्ट बैंकले ९ रुपैयाँ २९ पैसा र तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ८ रुपैयाँ ५९ पैसाले इपीएस बढाएको छ ।

यस्तै गत चैतको तुलनामा यस चैतमा नेपाल एसबिआई बैंकले ६ रुपैयाँ ६३ पैसा, एनआईसी एशिया बैंकले ४ रुपैयाँ ८२ पैसा, लक्ष्मी बैंकले ४ रुपैयाँ ७० पैसा बढाएको छ । नबिल, हिमालयन र एनएमबि बैंकको इपीएस भने एक रुपैयाँभन्दा कम मात्र बढेको छ ।

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालु आवको ९ महिना अवधिमा १२ वाणिज्य बैंकहरुको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।

समीक्षा अवधिमा कृषि विकास बैंकको वार्षिक प्रतिसेयर आम्दानी (इपीएस) सबैभन्दा धेरै ८ रुपैयाँ ५६ पैसाले घटेको छ । यस्तै प्रभु बैंकको ७ करोड ३२ पैसा, कुमारी बैंक ७ रुपैयाँ ९ पैसा, सिद्धार्थ बैंकको ५ रुपैयाँ ६५ पैसा, नेपाल बैंक ४ रुपैयाँ १३ पैसाले घटेको छ ।

यसैगरी ग्लोबल आइएमई बैंकको ३ रुपैयाँ ८० पैसा, सिटिजन बैंकको ३ रुपैयाँ ३२ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ रुपैयाँ ८४ पैसा, माछापुच्छ्रे बैंकको २ रुपैयाँ ६० पैसा, प्राइम कमर्सियल बैंकको २ रुपैयाँ ४९ पैसा, सनराइज बैंकको १ रुपैयाँ ४० पैसा र सानिमा बैंकको वार्षिक प्रतिसेयर आम्दानी ३७ पैसाले घटेको छ ।

S.N. Bank EPS 2079 Chaitra EPS 2078 Chaitra Change (RS)
1 Standard Chartered                         36.91                         23.03 13.88
2 Everest                          30.74                         21.45 9.29
3 Rastriya Banijya                        30.50                         21.91 8.59
4 Nepal SBI                         23.76                         17.13 6.63
5 NIC Asia                         46.76                         41.94 4.82
6 Laxmi                          14.61                           9.91 4.70
7 NABIL                         25.21                         24.39 0.82
8 Himalayan                         15.04                         14.31 0.73
9 NMB                         19.47                         19.35 0.12
10 Sanima                         18.50                         18.87 -0.37
11 Sunrise                          15.43                         16.83 -1.40
12 Prime                         16.96                         19.45 -2.49
13 Machhapuchhre                        17.57                         20.17 -2.60
14 Nepal Investment Mega                        15.20                         18.04 -2.84
15 Citizen                         11.61                         14.93 -3.32
16 Global IME                          17.08                         20.88 -3.80
17 Nepal Bank                         16.17                         20.30 -4.13
18 Siddhartha                         14.24                         19.89 -5.65
19 Kumari                           9.25                         16.34 -7.09
20 Prabhu                        11.07                         18.39 -7.32
21 Agriculture Development                           7.90                         16.46 -8.56

 

कुन बैंकको कति छ प्रतिसेयर आम्दानी ?

चालु आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्म कमाएको खुद नाफाको आधारमा हिसाब गर्दा एनआईसी एशिया बैंकले सबैभन्दा धेरै वार्षिक ४६ रुपैयाँ ७६ पैसा कायम गरेको छ । दोस्रो स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्डको ३६ रुपैयाँ ९१ पैसा, एभरेष्ट बैंकको ३० रुपैयाँ ७४ पैसा र राष्ट्रिय वाणिज्य बैंकको ३० रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै अवधिमा नबिल बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ २१ पैसा, नेपाल एसबिआई बैंकको २३ रुपैयाँ ७६ पैसा, एनएमबि बैंकको १९ रुपैयाँ ४७ पैसा, सानिमा बैंक १८ रुपैयाँ ५० पैसा, माछापुच्छ्रे बैंक १७ रुपैयाँ ५७ पैसा, प्राइम कमर्सियल बैंक १६ रुपैयाँ ९६ पैसा र नेपाल बैंकको वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँ १७ पैसा रहेको छ ।

समीक्षा अवधिमा सनराइज बैंकको वार्षिक प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४३ पैसा, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १५ रुपैयाँ २० पैसा र हिमालयन बैंक १५ रुपैयाँ ४ पैसा कायम भएको छ ।

यस्तै लक्ष्मी बैंकको १४ रुपैयाँ ६१ पैसा, सिद्धार्थ बैंकको १४ रुपैयाँ २४ पैसा, सिटिजन बैंकको ११ रुपैयाँ ६१ पैसा र प्रभु बैंकको ११ रुपैयाँ ४ पैसा कायम भएको छ । कुमारी बैंक र कृषि विकास बैंकको वार्षिक इपीएस दश रुपैयाँभन्दा कम रहेको छ । यस अवधिमा कुमारीको इपीएस ९ रुपैयाँ २५ पैसा र कृषि विकास बैंकको ७ रुपैयाँ ९० पैसामा सीमित भएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।