दोल्ती पावरमा आजदेखि १ लाख २७ हजार १८६ जना सेयरधनी थपिँदै

0
Shares

दोल्ती पावर कम्पनी लिमिटेडमा शुक्रबार १ लाख २७ हजार १८६ जना सेयरधनी थप हुने भएका छन् । कम्पनीको शुक्रबार हुन लागेको आईपीओ बाँडफाँडमा सो संख्याका सर्वसाधारण सेयरधनी थप भएका हुन् ।

कम्पनीको आईपीओ बैशाख ८ गते शुक्रबार (आज) दिउँसो ३ बजे बाँडफाँड हुँदैछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज दिउँसो काजीको किचेन बत्तिसपुतली, काठमाडौंमा आईपीओ बाँडफाँड हुँदैछ ।

धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने उक्त आईपीओ बाँडफाँडमा गोलाप्रथाबाट १ लाख २७ हजार १८६ जनाले सेयर प्राप्त गर्नेछन् । जसमा न्यूनतम १० कित्ताका दरले गोलाप्रथाबाट सेयर बाँडफाँड गरी बाँकी रहेको १ कित्ता सेयर १० कित्ता सेयर पाउनेमध्ये भाग्यशाली एक लगानीकर्ताले हात पार्नेछन् । अन्तिम दिनको तथ्याङ्क अनुसार कुल आवेदकमध्ये ९०.५० प्रतिशत आवेदकको हात खाली हुनेछ ।

कम्पनीको आईपीओ खरिदका लागि अन्तिम दिनसम्म १३ लाख ३९ हजार ४४० आवेदकबाट कुल १ करोड ४७ लाख ६२ हजार २६० कित्ता सेयर माग भएको छ । जुन सर्वसाधारणबाट माग संख्याको ११.६१ गुणा हो ।

कम्पनीले सर्वसाधारणमा चैत २८ गतेदेखि वैशाख ३ गतेसम्म सर्वसाधारणका लागि १०० अंकित दरका १२ लाख ७१ हजार ८६१ कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको ३० प्रतिशत दरको १६ लाख ९ हजार ४५८ कित्ता शेयर आयोजना प्रभावित स्थानीय सहित सर्वसाधारणमा जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा १ लाख ४१ हजार ८२० कित्ता र सर्वसाधारणलाई जारी हुनेमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता सेयर कम्पनीले बाँडफाँड गरिसकेको छ । स्थानीयका लागि कम्पनीले ५ लाख ३६ हजार ४८६ कित्ता सेयर बिक्री खुला गरेको थियो । स्थानीयमा वितरण हुन नसकेको बाँकी सेयर समेत सर्वसाधारणमा थप गरी बिक्री गरेको हो । कम्पनीका कर्मचारीका लागि छुट्याएको सेयर समेत बाँडफाँड गरिसकेको कम्पनीले सामूहिक लगानी कोषका लागि ५ प्रतिशतले हुन आउने ६८ हजार १७ कित्ता सेयर सुरक्षित गरेको छ ।

कम्पनीले दैलेख जिल्लामा ४.५ मेगावाट क्षमताको पदम खोला साना जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यापारिक उत्पादन गर्दै आएको छ । २०७७ साल फागुन ८ गतेदेखि व्यापारिक उत्पादन गर्ने मिति तय गरिएको उक्त आयोजनाबाट निर्धारित अवधिभन्दा अगाबै २०७६ साल पुस ८ गतेदेखि व्यापारिक उत्पादन सुरु गर्न कम्पनी सफल भएको हो ।

४ दशमलव ५ मेगावाट क्षमताको पदम खोला जलविद्युत आयोजनाको कुल निर्माण लागत १ अर्ब ८ करोड २२ लाख ९० हजार २०० रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २४ करोड ५ लाख ८ हजार ९३३ रुपैयाँ रहेको छ । यस आयोजनको विद्युत उत्पादन अनुमति पत्र बहाल रहने अवधि २१०९ साल असोज २८ गतेसम्म रहेकाले अझै ३० वर्ष बाँकी रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।