प्रत्यक्ष बैदेशिक लगानीको स्वीकृति विद्युतीय माध्यमबाट लिन सकिने

0
Shares

सरकारले विदेशी लगानीको स्वीकृतिलाइ थप सरल बनाएको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावलीको संशोधन गर्दै विद्युतीय माध्यमबाट पनि लगानी स्वीकृति लिन सकिने व्यवस्था गरेको हो ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण २०७७ को पहिलो संशोधन संशोधन गर्दै नियमावली, २०७९ रहेको छ । स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने व्यवस्था थप गरेको हो ।

सरकारले नियमावलीको नियम ८ पछि ‘८क’ थप गर्दै लगानी स्वीकृतका लागि लगानीकर्तालाई सहज होस भन्दै अटोमेटिक रुटको व्यवस्था गरेको हो । संशोधित नियमावली अनुसार नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वचालित मार्गबाट सेवा प्रदान गर्न सकिने गरी निर्धारण गरेको लगानीको सीमामा नबढ्ने गरी विदेशी लगानीको स्वीकृति हुने छ ।

सो अनुसार शतप्रतिशत सेयर स्वामित्व वा संयुक्त लगानीमा नयाँ कम्पनी संस्थापना गर्नका लागि लगानी ल्याउन लागेको हो भने त्यस्तो लगानीलाई विद्युतीय माधयबाट पनि स्वीकृत हुने व्यवस्था नियमावलीले गरेको छ । त्यसैगरी विदेशी लगानीमा स्थापना भई सञ्चालनमा रहेको कम्पनीको तत्काल कायम रहेको विदेशी लगानीकर्ताले त्यस्तो कम्पनीमा पूँजी वृद्धिको लागि लगानी थप गर्ने भएमा पनि विद्युतीय माध्यमबाट स्वीकृति लिन सकिनेछ ।

विदेशी लगानी स्वीकृति सम्बन्धी सेवा उपलब्ध गराउने प्रयोजनको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन तथा नियमावली बमोजिम विदेशी लगानी स्वीकृतिको लागि पेश गर्नु पर्ने विवरण तथा कागजात विद्युतीय प्रणालीबाट पेश गर्न सकिने प्रणाली उद्योग विभागले सञ्चालन गर्नेछ । विदेशी लगानी सम्बन्धी स्वीकृति लिन चाहने विदेशी लगानीकर्ताले विभागले सञ्चालन गरेको विद्युतीय प्रणालीमा लग इन गरी सो प्रणालीले माग गरे बमोजिमको विवरण तथा कागजात त्यस्तो प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ ।

विद्युतीय प्रणालीमा विदेशी लगानी स्वीकृतिको लागि आवश्यक विवरण तथा कागजात प्रविष्ट गरे पछि स्वीकृतिको लागि विद्युतीय प्रणालीबाट पेश गर्नु भन्दा पहिले सम्बन्धित विदेशी लगानीकर्ताले प्रविष्ट गरेको विवरण तथा कागजात जाँच गर्नु तथा सच्याउनु पर्ने भएमा सच्याउन सक्ने व्यवस्था रहेको नियमावलीमा उल्लेख छ ।

यसरी प्रणालीमा प्रविष्ट गरिएको विवरण तथा कागजात विदेशी लगानीकर्ताले जाँच गरी आवश्यकता अनुसार सच्याए पछि विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश गर्न सक्नेछ ।

विदेशी लगानी स्वीकृतिको लागि विभागको विद्युतीय प्रणालीमा पेश भए पछि त्यस्तो लगानीकर्ताको इमेल ठेगानामा आवेदन नम्बर सहित लगानी स्वीकृत भएको जानकारी दिइनेछ । त्यस्तो जानकारीको अतिरिक्त विदेशी लगानीकर्ताले लगानी स्वीकृत भएको पत्र विभागको विद्युतीय प्रणालीबाट समेत पाउने व्यवस्था नियमावलीमा रहेको छ । विदेशी लगानी स्वीकृतिको जानकारी दिए पछि ऐन तथा नियमावली बमोजिम निजको विदेशी लगानी स्वतः स्वीकृत भएको मानिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।