मौलाकाली केवलकार वैशाख १८ गतेदेखि सञ्चालनमा आउने


मौलाकाली केवलकार प्रालिद्वारा प्रवद्र्धित मौलाकाली केवलकार यही वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

नवलपुर जिल्लाको गैडाकोट १ मा निर्माण सम्पन्न केवलकार यही वैशाख १ गतेदेखि परीक्षण सञ्चालन भएको थियो । केवलकारको वैशाख १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले औपचारिक रुपमा उद्घाटन गर्ने कार्यक्रम छ ।

आईएमई ग्रुपको मुख्य लगानी रहेको मौलाकाली केवलकारको निर्माण गत वर्षदेखि सुरु गरिएको थियो । गैडाकोट १ बाट मौलाकाली मन्दिरसम्म १.२ किलोमिटर लामो केवलकारमा १२ वटा गोन्डोला रहेका छन् । केवलकारमार्फत बटम स्टेशनबाट टप स्टेशनसम्म पुग्न करिब ५ मिनेटको समय लाग्छ । केवलकार सञ्चालन भए पनि होटल सञ्चालनका लागि भने अझै केही महिना लाग्ने मौलाकाली केवलकार प्रालिले जनाएको छ ।

नवलपुर र चितवन जिल्लाको पर्यटकीय पूर्वाधारमा उल्लेख्य योगदान पुग्ने उक्त परियोजनामा दुई अर्ब रुपैयाँ भन्दा बढी लगानी रहेको छ ।आईएमई ग्रुपको मुख्य लगानी रहेको केवलकारसहितको नयाँ पर्यटकीय गन्तब्य निर्माण काठमाण्डौंको चन्द्रागिरिमा निर्माणसम्पन्न भई सञ्चालनमा रहेको छ ।

त्यसैगरी, यस ग्रुपको मुख्य लगानी रहेको लुम्बिनी केवलकार प्रा.लिद्वारा प्रवद्र्धित अर्को केवलकार परियोजना रुपन्देही जिल्लाको बुटवल बजारदेखि पाल्पाको बसन्तपुरमा निर्माणाधीन रहेको छ । उक्त केवलकार परियोजना पनि यसै महिनाको अन्त्यदेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ । आईएमई ग्रुपको लगानीमा सातवटै प्रदेशमा ठूला र नमूना पर्यटकीय पूर्वाधार निर्माणको चरणमा रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।