कामना सेवा विकास बैंकको प्रमुख कार्यकारीमा दिनेश थकाली


कामना सेवा विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश थकालीले पाएका छन् । बैंक सञ्चालक समितिले थकालीलाई २०८० जेठ १४ देखि ४ वर्षका लागि बैंक व्यवस्थापनको नेतृत्व सुम्पिने निर्णय गरेको हो ।

पेशाले चार्टर्ड एकाउण्टेण्ट समेत रहेका थकाली प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रभु क्यापिटलको प्रबन्ध संचालकबाट पछिल्लो समय फेरी बैंकमा प्रमुख व्यावसाय अधिकृतको रुपमा कार्यरत थिए । कामनाको नेतृत्व सम्हाल्ने भए पछि उनी प्रभु बैंकबाट बाहिरिएका हुन् ।

कामना सेवा विकास बैंकलाई अझै प्रतिष्पर्धी बनाउँदै सबल बैंकका रुपमा स्थापित गराउन आफुले सक्दो पहल गर्ने थकालीले बताए । करिअरको सुरुपाती दिनदेखिका अनुभवलाई बैंकको सबलीकरणमा खर्चिने बताएका उनले समयसापेक्ष बैंकिङ प्रणालीमा जोड दिए ।

त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलपमेण्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैकिङ करियर शुरु गरेका थिए । बागेश्वरी र साग्रिलाको मर्जर पछि कम्पनी सचिव तथा डेपुटी सिइओ बनेका थिए । साग्रिला डेभलपमेन्ट पछि थकाली प्रमुख सञ्चालन अधिकृतको रुपमा प्रभु बैंक भित्रिएका थिए ।

छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा उदाएका थकाली कुशल व्यवस्थापकका रुपमा परिचित छन् ।

लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन, एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ्ग तथा व्यवस्थापन सम्बन्धि विभिन्न विधामा अध्ययन तथा तालिम लिएका छन् ।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका पूर्वमहासचिव समेत रहेका थकालीसँग बैंकको निक्षेप परिचालन, निक्षेप बजारीकरणदेखि धितोपत्र बजारको अनुभव छ ।

कमसल धितो राखी कर्जा प्रवाह गरेको सन्दर्भमा तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रबीण बस्नेत पक्राउ परेपछि गत फागुनदेखि बैंक कायममुकायम प्रमुख कार्यकारी अधिकृत विनय दाहालको कमाण्डमा थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।