नेप्से दोहोरो अंकले घटेपछि लगानीकर्ता निराश, ९५ करोडको सेयर खरिद बिक्री

0
Shares

लगातार तेस्रो कारोबार दिन आइतबार पनि नेप्सेमा गिरावट देखिएको छ । गत बुधबार दोहोरो अंकले घटेको नेप्से बिहीबार सामान्य अंकले घटेपनि आइतबार पुनः गिरावट बढेको हो ।

नेप्से आज आइतबार १.०१ प्रतिशत १९.११ अंकले घटेर १८७० दशमलव ६५ को बिन्दुमा झरेको छ । नेप्से दोहोरो अंकले घटेपनि आज कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २२ करोड २४ लाख रुपैयाँले बढेर ९५ करोड ४३ लाख २२ हजार ३७७ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यसदिन २१७ कम्पनीको ३२ लाख ६ हजार ४५० कित्ता सेयर २६ हजार ८०१ वटा संख्यामा खरिद बिक्री भएका हुन् । आज कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१९ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा निरन्तर गिरावटको क्रम बढ्न थालेपछि लगानीकर्तामा निराशा छाउन थालेको छ । बजारमा नव प्रवेशी लगानीकर्ताको उपस्थिति छैन भने केही पुँजी बोकेर बसेका लगानीकर्ता समेत ‘पर्ख र हेर’ को रणनीतिमा रहेका छन् । यसले कारोबारसँगै नेप्सेमा राैनता  छाउन नसकेकाे अवस्था छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै ४ करोड २५ लाख १० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ करोड ५७ लाख, तारागाउँ रिजेन्सी होटलको ३ करोड ३१ लाख, नबिल बैंकको ३ करोड २३ लाख र ओरियन्टल होटलको २ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको आइतबारको बजारमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड–२ को इकाईमूल्य सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ । यस्तै प्रभु बैंकको डिबेन्चर २०८७ को ३.१८, मिथिला लघुवित्तको २.५९, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को २.४५ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.०७ प्रतिशतले बढेको छ ।

बजार दोहोरो अंकले घटेपछि एनआइबिएल ग्रोथ फन्डका लगानीकर्ताले सर्वाधिक ८.८९ प्रतिशतले आजको बजारबाट गुमाएका छन् । यस्तै अप्पर सोलु हाइड्रोपावरको ४.७०, हिमालयन उर्जा विकास कम्पनीको ४.६८, आँखुखोला हाइड्रोपावरको ४.६४ र पिपल्स पावर लिमिटेडको सेयरमूल्य ४.६१ प्रतिशतले घटेको छ ।

आइतबारको कारोबारसँगै समग्र बजार पुँजीकरण पौने २८ अर्ब रुपैयाँले घटेर  २७ खर्ब २५ अर्ब ६८ करोड २८ लाख रुपैयाँमा झरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।