आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार बैशाख २७ गतेदेखि

0
Shares

आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सले एक आपसमा मर्जर सम्पन्न गरी बैशाख २७ गते बुधबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

यी दुई निर्जीवन बीमा कम्पनीबीच मर्जर सम्झौता भएको तीन महिनापछि एकीकृत कारोबार सुरु हुन लागेको हो । आइएमई र प्रुडेन्सियलले माघ २७ गते एक आपसमा मर्जरमा जाने सहमति गरेका थिए । यो निर्जीवन बीमा क्षेत्रकै पाँचौ सफल मर्जर तथा बीमा क्षेत्रमै सबैभन्दा छोटो समयमा भएको सफल मर्जर हो ।

बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुई कम्पनीबीच मर्जर भई एकीकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो ।

नेपाल धितोपत्र बोर्डले दुई कम्पनीलाई मर्जरमा जानका लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । दुई कम्पनीबीचको मर्जरलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले चैत २६ गते अन्तिम स्वीकृति प्रदान गरिसकेको छ । दुबै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए ।

दुई कम्पनीबीच मर्जर पश्चात आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । मर्जरपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृतमा सीईओ युगेश भक्त बादे श्रेष्ठ रहनेछन् । अध्यक्ष र सीईओ दुबै साविक आइएमई जनरल इन्स्योरेन्सका हुन् ।

यस्तै हाल प्रुडेन्सियल इन्स्योरेन्सका सीईओ श्रवण रावल आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) को भुमिकामा रहनेछन् ।

एक बराबर एकको समान सेयर स्वाप रेसियो अनुपातमा हुने मर्जपश्चात बन्ने आईजीआई प्रुडेन्सियलको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ कायम हुनेछ । यो पुँजी निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक हो ।

यसअघि निर्जीवन बीमा क्षेत्रमा सिद्धार्थ प्रिमियर २ अर्ब ८० करोड बढी चुक्ता पुँजी सहित सर्वाधिक पुँजी भएको कम्पनी थियो ।

तत्कालीन अवस्थाको डुब्ने अवस्थामा पुगेको एनबि इन्स्योरेन्सलाई आइएमई समुहले खरिद गरेर आज निर्जीवन बीमा क्षेत्रमा प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापित बनेको छ । हालका नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका चन्द्र ढकाल अध्यक्ष रहेको आईएमई समुहले पछिल्ला दिनहरुमा हरेक क्षेत्रमा आफ्नो स्वामित्व खडा गर्दै गइरहेको छ ।

बैंकिङ्ग क्षेत्रमा सबैभन्दा धेरै मर्जर सम्पन्न गरेर चुक्ता पुँजीका आधारमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बनेको छ । यता निर्जीवन बीमा क्षेत्रमा समेत क्रम होल्डिङ्ग रहेको प्रुडेन्सियल इन्स्योरेन्सलाई मर्जर गरेर आईएमई जनरल इन्स्योरेन्सले निर्जीवन बीमा क्षेत्रमा सर्वाधिक पूँजी भएको कम्पनी निर्माण गरेको छ । यससँगै कम्पनीले बजारमा थप प्रतिस्पर्धी बनाउने रणनीति लिएको छ । समुहले आफ्नो लगानी रहेका बैंक वित्तीय संस्थालाई मर्जर गराए शक्तिशाली र प्रतिस्पर्धी बनाउदै लगेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।