सेयर लगानीकर्ता संगठनहरुले अर्थमन्त्रीलाई बुझाए ६ बुँदे सुझाव

0
Shares

सेयर लगानीकर्ताहरूको तीन वटा संगठनहरुले सेयर बजार सुधारका लागि अर्थमन्त्री प्रकाशशरण महतलाई भेटेर सोमबार विभिन्न ६ बुँदे सुझावपत्र गरेका छन् ।

नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजी बजार लगानीकर्ता संघका प्रतिनिधिहरुको टोलीले अर्थमन्त्रीलाई भेट गरी नेपाल राष्ट्र बैंकको नीतिका कारण सेयर बजारमा परेको प्रभावको बारेमा जानकारी दिँदै त्यस्ता नीतिहरू परिमार्जन गर्नका लागि उनीहरुले सुझाव दिएका हुन् ।

लगानीकर्ताका संगठनहरूले नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया ढिलासुस्ती नगरी कार्यान्वयन गर्न माग गरेका छन् ।  यस्तै सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसतलाई १०० प्रतिशत नै कायम गर्न, अल्पकालीन र दीर्घकालीन लगानीकर्तालाई वर्गीकरण गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ३ प्रतिशत पूँजीगत लाभकर लगाउने व्यवस्था गर्न र १२ करोडसम्मको सेयर कर्जाको सीमाले शेयर बजारलाई निरुत्साहित गरेकोले सो व्यवस्थालाई फिर्ता लिनका लागि अनुरोध गरिएको छ ।

अर्थमन्त्री समक्ष पेश गरेका मागमा विद्यमान उच्च ब्याजदरका कारण निरुत्साहित लगानीकर्ताको मनोबल बढाउन ब्याजदर पुनरवलोकन गरी एकल अंक कायम गर्न माग गरिएको छ । तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सृजना भएकाले उक्त समस्या तत्काल समाधान गर्नुपर्ने उल्लेख गरेका छन् ।

अर्थमन्त्री महतले लगानीकर्ताहरुको मागपत्र बुझ्दै सेयर बजारका समस्या तत्काल समाधान गर्नको लागि आफूले राष्ट्र बैंकसँग समन्वय तथा छलफल गर्ने बताएका थिए । अर्थमन्त्रीले लगानीकर्ताहरुको ६ बुँदे मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै सेयर बजारमा परेको अप्ठेरो नीतिहरू परिमार्जन गर्नका लागि आफूले सकारात्मक सम्बाेधन र पहल गर्ने प्रतिबद्दता व्यक्त गरेकाे  शेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले जानकारी दिए ।

पेश गरिएका माग सम्बोधन भएमा सेयर बजारको गुणात्मक, परिमाणात्मक एवं दीर्घकालीन विकास हुने तथा विश्वासिलो र भरपर्दो लगानी गन्तव्यको क्षेत्रको रूपमा पूँजी बजारलाई स्थापना गर्न सकिने उनीहरुको भनाई छ । सेयर बजारबाट सरकारलाई राजस्वको रूपमा विगतमा वार्षिक १५ अर्बभन्दा बढि पूँजीगत लाभकर प्राप्त भएपनि सेयर बजार घट्दा ४४ खर्बको बजार पूँजीकरण हाल २७ खर्ब ५० अर्बमा झरेको अथमन्त्रीलाई स्मरण गराइएको छ ।

धितोपत्रको दोस्रो बजारमा १६ लाखभन्दा बढी लगानीकर्ता अनलाइनमा अभ्यस्त भएको तथा प्राथमिक बजारमा अहिले करिब ५६ लाख ५० हजार हितग्राही खाता रहेको समेत उनीहरुले जानकारी दिएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।