सरकारको लाइसेन्स बिक्री गर्ने खेलोको विरोधमा नेप्सेका कर्मचारी, ‘हरेक घर नेप्सेको सेयर’ को माग

0
Shares

सरकारले अघि बढाएको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणको प्रक्रियाको विरोध गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से)का कर्मचारीले आन्दोलन सुरु गरेका छन् । उनीहरुले सिमित व्यक्तिको स्वार्थ पूरा गर्नका लागि सरकारले नेप्से नै सकाउने गरी नयाँ स्टक एक्सचेन्ज ल्याउन लागेको भन्दै अन्दोलन सुरु गरेका हुन ।

नेप्से कर्मचारी संघले बुधबारदेखि नेप्से कार्यालय हाता भित्रै कालो ब्यानर टागेर विरोध सुरु गरेको हो । संघले नेप्सेको आधुनीकीकरण संगै साधारण सेयर जारी गर्न लगायतका माग अघि सारेका छन् ।

नेपाल धितोपत्र बोर्डले केही व्यक्तिको स्वार्थ पुरा गर्न व्यवसायी समहुहरुसंग साँठगाँठ गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स बिक्री गर्न लगेको आरोप उनीहरुको छ । धितोपत्र बोर्डले स्टक एकक्सचेन्ज, कमोडिटि एक्सचेन्ज र धितोपत्र दलाल कम्पनीको लाइसेन्स वितरणलाई मात्र केन्द्रमा राखेर नीति नियममा समेत परिवर्तन गरी लाइसेन्स वितरणको प्रक्रिया सुरु गरेको थियो । उक्त प्रक्रिया कै विरुद्धमा सर्वोच्च अदालतमा समेत २ वटा रिट परेका थिए । सर्वोच्चले दुबै रिट खारेज गरेपछि लाइसेन्स वितरणको प्रक्रिया पुनः धितोपत्र बोर्डले अघि बढाएको छ ।

बोर्डले सिमित व्यवसायीको हितमा हुने गरी नीति नियममा संशोधन गरेर नयाँ लाइसेन्स वितरण प्रक्रिया सुरु गरेकोमा चौतर्फि विरोध भएपनि बोर्ड नेतृत्व तथा सरकारले जसरी पनि लाइसेन्स दिने अडान लिनुले पनि ठूलो रकमको चलखेल भएको सहजै अनुमान गर्न सकिन्छ । सरकारी स्वामित्वको नेप्सेलाई सबलिकरण र आधुनिकीकरण नगरी सीमीत व्यवसायीको स्वार्थमा लाइसेन्स दिनु नेप्सेका लागि पनि न्यायपुर्ण नभएको सरोकारवालाहरुले बताउँदै आएका छन ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने विषय सडक देखि अदालत हुँदै सदनसम्म पनि पुगेको अवस्था छ । सांसद अमरेस कुमार सिहंले नयाँ स्टक एकसचेन्ज बजारको आवश्यकता भन्दा पनि धितोपत्र बोर्ड र सरकारका उच्च अधिकारीले नीतिगत भ्रष्टाचार गरेको आरोप पनि लगाए । त्यसका साथै उनले सरकारी सम्पत्ति प्रति सरकार नै गैर जिम्मेबार भएको समेत बताएका थिए ।

धितोपत्र बजारका केही विश्लेषकहरु पुँजी बजारको आकार अनुसार दुइ स्टक एक्सचेन्ज आवश्यक नभएको तर्क गर्दे आएका छन् । नेप्सेलाई चुस्त बनाउने प्रतिस्पर्धि ल्याउने भास्य सृजना गरीएको भएपनि नेप्सेको सबलिकरण र आधुनिकीकरण गर्ने तर्फ सरकार तथा धितोपत्र बोर्डले कुनै कदम चालेका छैनन ।
“यसको अर्थ भनेको पुँजी बजार केही सीमित समुहको नियन्त्रण भित्र राख्नका लागि नयाँ स्टक एक्सचेन्ज ल्याउन लागिएको हो,” एक विश्लेषकले भने,“नीजि क्षेत्रको स्टक एक्सचेन्ज त्यो पनि सिमित व्यवसायीक घरानाको सहभागितामा सञ्चालनमा आएको खण्डमा धितोपत्र बजारका लगानीकर्ताको गोपनियता समेत जोखिममा पर्छ ।”

त्यतीमात्र नभई धितोपत्र बोर्डले हाल भएका संस्थालाई नै प्रभावकारी नियमन गर्न नसकेको अवस्थामा लाइसेन्स वितरण पछि बजार झनै राम्रो हुन्छ भनेर विश्वास गर्ने आधार नभएको उनको भनाइ छ ।

धितोपत्र बोर्डले लाइसेन्स बाँडेपछि बजार बलियो हुने भन्दा पनि नियामक निकाय सबल भई प्रभावकारी नियमन तथा सुपरिवेक्षण हुनु पर्ने ती व्यक्तिको बुझाइ छ ।

धितोपत्र बोर्ड नेतृत्वले चौतर्फि विरोधका बाबजुद पनि लाइसेन्स नदिइ नछोड्ने भएपछि नेप्सेका कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन । नेप्सेका कर्मचारीले तुरुन्तै नेप्सेको साधारण सेयर निष्कासनको माग गर्दै एक घर नेप्सेको सेयर भन्ने नारा लगाएका थिए । साथै नेप्सेको आधुनिकीकरण र कर्पोरेटाइजेन गर्न समेत कर्मचारीहरुले माग गरेका छन् । त्यसका साथै कर्मचारीले यसै वर्षमा नेप्सेको पुनसरचना गर्नुपर्ने माग समेत राखेका छन ।

सरकारले नेप्सेको हितका लागि कर्मचारीको माग पुरा गरेको खण्डमा नयाँ स्टक एक्सचेन्ज आवश्यक नभएको उनीहरुको दावी छ । कर्मचारी नयाँ स्टक ल्याउन लगानी गर्ने व्यवसायी समुहलाई नेप्से कै सेयर बिक्री गर्न समेत सुझाएको नेप्से कर्मचारी युनियनका अध्यक्ष नबराज थापाले बताए । “विरोधको कार्यक्रम माग सम्बोधन नहँुदासम्म जारी हुन्छ,” थापाले भने,“आवश्यकता अनुसार विरोधका कार्यक्रमहरु पनि थप हुन सक्छन ।”

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।