सरकारले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर पनि डेढ प्रतिशत बिन्दुले घटायो

0
Shares

सरकारले वैदेशिक रोजगार बचतपत्रको ब्याजदर घटाएको छ। बैंकहरुले निक्षेपको ब्याजदर घटाएसँगै सरकारले पनि वैदेशिक रोजगार बचतपत्रको ब्याजदर घटाएको हो ।

बैंकहरुले निक्षेपको ब्याज १.०१ प्रतिशतले घटाउदै एकल अंकमा ल्याएका छन् । सरकारले पनि साढे १२ प्रतिशत ब्याजमा उठाएको बैदेशिक रोजगार बचतपत्र १.५ प्रतिशत विन्दुले घटाएर ११ प्रतिशतमा झरेको हो ।

उच्च आयातका कारण अर्थतन्त्रमा माग बढेपछि मूल्य वृद्धि पनि उच्च हुन पुग्यो । आयात र मूल्यवृद्धि नियन्त्रणका लागि केन्द्रीय बैंकले नीतिगत दर तथा बैंक दर समेत बढाएर साढे ८ प्रतिशत पु¥यायो । त्यसले बैंकिङ क्षेत्रको ब्याजदर झनै बढ्न मद्दत पुग्यो ।

कारोना महामारीको अवधिमा केन्द्रीय बैंकले बढाएको मनि सप्लाइ पनि घटायो । त्यसका साथै प्रणालीको पैसा पनि केन्द्रीय बैंकमा थुप्रियो । बैंक तथा वित्तीय संस्थामा तरलता अभावको समस्या जटिल बन्दै गएपछि ब्याजदर पनि उच्च हुदै गएको थियो । बैंकहरुले निक्षेपका लागि करिब १३ प्रतिशतसम्म ब्याज दिएका थिए ।

बैंकहरुले बैशाखको सुरुदेखि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ९.९९ प्रतिशतमा झारेका छन् । त्यस्तै संस्थागत निक्षेपकर्ताको ब्याजदर ७.९९ प्रतिशत र बचतको ब्याज ५.४ देखि ७.४ प्रतिशत कायम गरे । बैंकहरुले भद्र सहमती गर्दै कल डिपोजिटमा २.७ प्रतिशत कायम गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर घटाएसंगै सरकारले बैदेशिक रोजगार बचतपत्रको ब्याजदर तथा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि घट्दो क्रममा छ । तर, बैंकहरुले घटाएको ब्याजदरको अनुपातमा ट्रेजरी बिल्सको डिस्काउन्ट रेट भने घटेको छैन ।

सरकारले गत वर्ष असार र चैत गरी दुई पटक बैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको थियो । उक्त बचतपत्रमा लगानी गर्ने लगानीकर्ताले साढे १२ प्रतिशतसम्म ब्याजदर पाएका थिए । तर, यो वर्ष अर्थात २०८० बैंशाखमा निष्कासित बैदेशिक रोजगार बचतपत्रको ब्याजदर ११ प्रतिशत तोकेको छ । त्यसैगरी ट्रेजरी बिल्सको डिस्काउन्ट रेट तथा नागरिक बचतपत्रको ब्याजदर समेत घटेको छ । यसले आगामी दिनमा बैंकिङ क्षेत्रको ब्याजदर अझै घट्ने देखाउँछ ।

सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि बैदेशिक रोजगार बचतपत्र जारी गर्ने गरेको छ । तर, यसरी सरकारले बैदेशिक रोजगारीमा गएका वा गएर फर्केका नेपालीका लागि लक्षित निष्कासीत हुने उक्त बचतपत्रको बिक्री दर भने निराशाजनक रहदै आएको छ ।

२०७९ चैत १० गते सरकारले निष्कासन गरेको ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रको ब्याजदर १५.५ रहेको थियो। सो बचतपत्र पनि निष्कासन रकमको ४.४९ प्रतिशत अर्थात २ करोड २४ लाख ३० हजार रुपैयाँ बराबरको मात्र बिक्री भएको थियो। नेपाल राष्ट्र बैंकले बैदेशिक रोजगार बचतपत्र बिक्री बढाउनका लागि जनचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भएपनि बिक्री बढ्न सकेको छैन ।

सरकारले बैशाख १७ गते देखि निष्कासन गरेको ९७ करोड ७५ लाख ७० हजार रुपैयाँ बरावरको बैदेशिक रोजगार बचतपत्रको ब्याजदर ११ प्रतिशत कायम गरेको छ । सरकारले ५ वर्ष अवधिमा परिपम्क हुने गरी ब्याजदर विगतको भन्दा घटाएर ल्याएको या बैदेशिक रोजगार बचतपत्र पनि पूर्ण बिक्री हुने सम्भावना निकै न्यून छ ।

सरकारले २०६७ साल यता १४ अर्ब ५८ करोड ७९ लाख रुपैयाँ बरावरको वैदेशिक रोजगार बचतपत्र जारी गरेको छ । सो मध्ये ७५ करोड ८३ लाख रुपैयाँ बरावरको मात्र बिक्री भएको छ । यो बिक्री रकम निष्कासीत कुल रकमको ५.२० प्रतिशत मात्र हो ।उक्त बचतपत्रमा वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैर–आवासीय नेपालीहरुले निवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले बचतपत्रका लागि घटीमा १० हजार देखि बढिमा १० हजारले भाग गर्दा निःशेष भाग जानेगरि आह्वान गरिएको रकमसम्म खरीद दरखास्त दिन सक्नेछन् । आवेदनका लागि इच्छुक लगानीकर्ताहरुले राहदानी, कार्यरत मुलुकको भिसा (भारत बाहेक), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको) को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाण स्वरुप विदेशी मुद्रा सटही गरेको भौचर पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।