नक्कली शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्छः महरा

0
Shares

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई पनि कारवाही हुनुपर्ने धारणा राखेका छन्। “नक्कली शरणार्थी बनाउने जस्तो गम्भीर अपराध कार्यमा संलग्न कसैलाई पनि सरकारले छोड्नु हुँदैन । यो गम्भीर अपराध हो, गठबन्धन भित्र र बाहिर जोसुकैलाई पनि कारवाही हुन्छ ।”

शनिबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै महराले राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिएपनि सरकारसँग स्पष्ट बहुमत हरेको बताएका छन् । सरकारले विश्वासको मत लिनुपर्ने अवस्था आएपनि स्पष्ट बहुमत पुग्ने बताए ।

“राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको निर्णय गरिसकेको छ तर औपचारिक रुपमा सरकारलाई जानकारी दिएको छैन । निर्णय गरेपछि औपचारिक रुपमा जानकारी गराउँछ होला नै । सरकारसँग स्पष्ट बहुमत छ । रास्वापाले फिर्ता लिँदैमा सरकारमाथि प्रश्न उठ्ने अवस्था छैन” महराले भने । रविले भ्रष्टाचारविरुद्धका फाइल खोल्ने भएपछि मात्रै सरकारमा सहभागी हुने भन्दै आएको तर सरकार त्यसमा अघि बढेको बेला समर्थन फिर्ता लिएको महराले बताए ।

माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले सरकार जनतासँग गरेको प्रतिवद्धता अनुरुप अघि बढिरहेको बताए । उनले नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कानुनको दायरामा ल्याउन, मिटरब्याज पीडितलाई न्याय दिने कुरामा अडिग रहेको बताए । इतिहासमै पहिलो पटक शैक्षिक सत्र सुरु हुनु पहिले नै पाठ्यापुस्तक विद्यालयमा पु¥याउनसहितका कार्यले सरकारसँग जनताको आशा बढेको बताए ।

माओवादी केन्द्रसहित ६ वटा पार्टीबीच समाजवादी मोर्चा बनाउने भन्ने विषयमा छलफल जारी रहेको महराले जानकारी दिए । विभिन्न चरणमा छलफल भइरहेको बताउँदै महराले अगाडि भने, “हाम्रो पार्टी माओवादी केन्द्रसहित ६ पार्टीबीच समाजवादी मोर्चा बनाउनेबारे छलफल जारी रहेको छ । मोर्चामा सहभागी विचार र कार्यक्रम मिल्ने पार्टीबीच एकता गर्ने नभए राष्ट्र र राष्ट्रियता र जनजिवीकाका सवालमा सहकार्य गर्ने सहमति भएको छ ।”

कार्यक्रममा अभिनेता तथा चलचित्रि निर्माता नवल खड्काले सरकारले भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउन हिम्मत गरेको बताउँदै त्यसबाट पछि नहट्न सुझाव दिए । उनले भने, “प्रचण्ड नेतृत्वको सरकारले राम्रो सुरुवात गरेको छ, मानव बेचबिखनजस्तो कार्यमा संलग्नमाथि छानविन सुरु भएको छ । अब यस्ता भ्रष्टहरुलाई कारवाही गर्नपर्छ । त्यसमा हाम्रो साथ र सहयोग हुन्छ ।”

खड्काले ओम्नी, ७० करोड, ३३ किलो सुन, ट्यांकी, बाइडबडीजस्ता काण्डको फाइल पनि खोल्न खड्काले सरकारलाई सुझाव दिए । भ्रष्टाचारीको फाइल खोल्न सुरु गरेपछि सरकारलाई अप्ठ्यारो पार्ने खेल सुरु भइसकेको बताउँदै उनले भने, “जनतासँग गरेको वाचा कार्यान्वयन गर्न सुरुदेखि नै

सरकारविरुद्ध घेराबन्दी पार्ने खेल सुरु भइसकेको छ, बरु सरकारबाट हट्नु परोस् तर भ्रष्टहरुलाई कारवाही गर्ने कदमबाट पछि हट्नु हुँदैन ।” देशको सीमना दिनदिनै मिचिरहेको र देशको रक्षाको लागि एकजुट हुने सन्देश दिन आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको तर सरकारले सन्सेर गरेको बताउँदै प्रदर्शनको लागि सबैसँग आग्रह गरे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।